
माङसेबुङ/आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०८३ कोे तयारी तिब्र बनाइएको छ ।
फुटबल प्रतियोगिताको तयारी गर्ने क्रममा सोमबार खेलकुद विभाग संयोजन संस्था आत्मा–पवित्र खेलकुद समितिले पत्रकार सम्मेलन गरी १९ औं संस्करणको आत्मानन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूको ७३ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह २०८३ को आयोजना तथा खेलकुद विभाग संयोजन संस्था आत्मा–पवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकपको आयोजना गरिएको हो ।

इलामको माङसेबुङ गाउँपालिका–५, स्थित आत्मानन्द रंगशालामा आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने आत्मानन्द गोल्डकपको उद्घाटन खेलमा साविक विजेता सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र तिजोक युवा क्लब पान्थर भिड्ने भएका छन् । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, तिजोक युवा क्लब पान्थर, सैनिक युथ क्लब झापा, मधेसा युथ क्लब सुनसरी, आयोजक युथ अफ माङसेबुङ इलाम, लेटाङ फुटबल क्लब मोरङ, माङसेबुङ गाउँपालिका इलाम र पाहुना टोली भारतको आरएलएस दार्जिलिङ भारतसहित आठ टिमको सहभागिता रहेको खेलकुद समिति आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएका छन् ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८३ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको संयोजक आत्मापवित्र खेलकुद समितिले गर्नेछ । भने युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–संयोजन रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही ८ हजार १७३ प्रदान गरिने अध्यक्ष आङबुहाङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
प्रतियोगितामा फुटबलका साथै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँण हुन्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यूको ७३ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह २०८३ को अवसरमा आयोजना गरिएको हो ।






