बढ्दो फाल्गुनन्द दर्शन : विश्वभर मनाइयो राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्तीे

 

माङसेबुङ/किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२ औं जन्मजयन्ती बुधबार विविध कार्यक्रम गरी विश्वभर भव्य तरिकाले मनाएका छन् ।

 

 

 

 

महागुरु फाल्गुनन्द लिङ्देन जन्मजयन्तीको अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नं. ४ स्थित पेल्टीमारीमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण तथा किरात हाङसाम युमा माङहिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

 


चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ लगायत विभिन्न धार्मिक संस्थाका प्रतिनिधि, राजनीनित दलका नेताहरुको उपस्थित रहेको थियो । सो कार्यक्रमको अध्यक्षता माङहिम अध्यक्ष राजेन्द्र तुम्रोकले गर्नु भएको थियो ।

 

महागुरु फाल्गुनन्दको १४२ औं जन्मजयन्तीको अवसरमा अङसीमाङ तथा अङसीमामाङज्यूहरु दमक बेलडाँगीमा अवस्थित किरात माङपोक्लुङ माङहिममा रहेको महागुरुको सालिकमा पनि पुगेर माल्यापर्ण गर्नु भएको थियो ।

त्यसैगरी इलामको माङसेबुङ गाउँपालिका वडा नं ५ मा अवस्थित गुरु निजी आश्रम लारुम्बामा महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२ ओैं जन्मजयन्तीको अवसरमा १ लाख ८ हजार १ सय ४२ दीप प्रज्वलन कार्यक्रममा पनि अङसीमाङ तथा अङसीमामाङज्यूहरुको समुपस्थिती रहेको थियो । भने, कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले आशीर्वचन समेत दिनु भएको थियो ।

 

 


ऐतिहासिक दीप प्रज्वलन, माङ आशीर्वचन तथा जलपान कार्यक्रममा गुरु निजी आश्रममा रहेका संस्थाहरू गुरु निजी आश्रम कृषि समिति, गुरु निजी आश्रम अर्थ समिति, गुरु निजी आश्रम सिद्ध जनशक्ति प्रालि र गुरु निजी आश्रम गौशाला समितिले संयुक्त आयोजना गरेको हो ।

 

यसरी इलामको चुलाचुली गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइएको किरात धर्मावलम्बीहरुको भनाई छ ।

 

 

 

 

महागुरु फाल्गुनन्द जन्मजयन्तीलाई भाषा दिवस घोषणा

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनज्यूले समाज सुधार र सामाजिक सद्भाव कायम गर्न पु¥याउनु भएको योगदान अतुलनीय रहेको बताउनु भएको छ ।
महागुरु फाल्गुनन्दको १४२ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो । उहाँले जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना समेत गर्नुभएको छ ।

 

मुख्यमन्त्री कार्कीले सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर महागुरु फाल्गुनन्दले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेद अन्त्य गर्दै सभ्य, सुसंस्कृत तथा न्यायपूर्ण समाज निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याउनु भएको उल्लेख गर्नुभएको छ । महागुरु फाल्गुनन्दले देखाउनु भएको सत्य, शान्ति, मानवता र सामाजिक सुधारको मार्ग तथा उहाँका अमूल्य शिक्षाहरू आज पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र अनुकरणीय रहेको सन्देशमा उल्लेख गर्नु भएको छ ।

 

 

उहाँका विचार, आदर्श र योगदानलाई आत्मसात् गर्दै सामाजिक सद्भाव, समानता र मानवताको भावनालाई व्यवहारमा उतार्न सबैलाई प्रेरणा मिल्ने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभएको छ । गत २०८३ असोज २४ गते प्रदेश सभाले प्रदेशमा बहुसंख्यकले बोल्ने मैथिली भाषा, लिम्बु भाषा र प्रदेशमा १% भन्दा बढी संख्याले बोल्ने ११ भाषालाइ प्रदेशको कामकाजी भाषा बनाउने बिधेयक पास गरेको थियो । महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा राजपत्रमा छापिए सँगै प्रदेशको कामकाजको भाषा कार्यावन्यनमा जादै गरेको खुशीको दिनलाई प्रदेश सरकारले फाल्गुनन्द जन्मजयन्तीको दिन प्रदेश भाषा दिवसको रुपमा घोषणा गरेको जनाइएको छ ।

जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ ?

 

 

 

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाइएको छ । भने, नेपालको विभिन्न जिल्लाहरुमा पनि भव्य रुपमा जन्मजयन्ती मनाएका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेको छ ।

 

 

 

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा महागुरु जन्मजयन्ती मनाएका छन् । त्यसैगरी प्रत्येक किरात माङहिमहरु र महागुरु फाल्गुनन्दको शालिकहरुमा समेत भव्यताका साथ जन्मजयन्ती मनाएका छन् ।

 

 

 

 

 

 

पछिल्लो समयमा नेपालमा मात्र नभई भारतको विभिन्न प्रान्त, भूटान, हङकङ, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाएका छन् । भने, युकेमा आगामी शनिबार महागुरु जन्मजयन्ती मनाउने तयारी गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव ज्ञानु फुरुम्बोले जनाएको छ ।

 

 

 

इलामको माङसेबुङ ५, स्थित माङसेबुङमा महागुरु फाल्गुनन्दको जन्मजयन्तीमा अवसरमा वहाँको नाममा विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना गरिएको थियो । युथ अफ माङसेबुङको आयोजनामा तेस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगिता र वाई. के. एम. को आयोजनामा दोस्रो महागुरु फाल्गुनन्द भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

 

 

 

 

त्यसैगरी इलामको माङसेबुङ ३, भञ्ज्याङमा रहेको महागुरुको सालिकका पनि जन्मजयन्ती मनाइएको आयोजक समितिले जनाएको छ । महागुरु फाल्गुनन्दको कर्मभूमि पान्थरको लब्रेकुटीमा र सिलौटीमा पनि विविध कार्यक्रम आयोजना गरी महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाएका छन् । पान्थरको लब्रेकुटीमा भने किरात साङ्सेन वरक चोत्लुङ माङहिम शताब्दी वर्ष विशेष कार्यक्रमको रुपमा महागुरु फाल्गुनन्द १४२ औं जन्मजयन्ती कार्यक्रमलाई मनाइएको माङसेवासाबा ध्रब तुम्बापाले जनाएको छ ।

 

 

ताप्लेजुङको फुङलिङ वजारमा अवस्थित किरात माङहिम र महागुरुको सालिकमा धार्मिक ¥याली सहित महागुरु फाल्गुनन्द लिङ्देन १४२ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव सरोज कङलिवाले जनाएको छ ।

 

 

 

 

 

 

मोरङको लेटाङ ३, स्थित किरात हाङसाम माङहिम, केराबारी ७ स्थित मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द मिङसो माङहिम लगायत माङहिम र महागुरुको सालिकहरुमा भव्यताका साथ जन्मजयन्ती मनाइएको छ ।

 

 

 

 

 

 

 

किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२ औं जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, आसामको विभिन्न ठाउँमा पनि भव्य रुपमा मनाइएको छ ।

 

 

 

 

 

किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिको प्रमुख आयोजना र कि.या.चु. नेवा–ताम्सालिङ् प्रदेश कार्यसमिति, ललितपुर, काठमाडौ र भक्तपुर जिल्ला कार्य समितिको सह आयोजनामा चुम्लुङ हिम ललितपुरमा राष्ट्रिय विभूति, समाज सुधारक महागुरु फाल्गुन्द लिङ्देनज्यूको १४२ औं जन्मजयन्ती समारोह सम्पन्न गरिएको छ ।


कियाचु फाल्गुनन्द समाज सुधार पुरस्कार यस वर्ष याक्थुङ समुदायमा योगदान दिनु हुने समाजसेवी नरकुमारी लिम्बूलाई प्रदान गरिएको चुम्लुङले जनाएको छ । लिम्बूलाई पुरस्कार वापत नगद रु २० हजार पुरस्कृत गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिका अध्यक्ष गोबिन्द आङबुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चुम्लुङ पूर्व केन्द्रिय अध्यक्ष एवम् सल्लाहकार अर्जुन लिम्बू रहनु भएको थियो ।