पहिलो चरण : माङहिम अनुगमन र धार्मिक जागरण अभियान

माङसेबुङ धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले विशिष्ट पहिचान बनेको क्षेत्र हो । किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल हो । यहाँ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको कर्मस्थल पनि रहनुले यसको महिमा बढ्दै गएको हो । यसरी धार्मिक महत्व र सम्भावना बोकेको धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ नेपालको सुदूर पूर्व जिल्ला इलामको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छ । माङसेबुङ, किरात लिम्बू भाषामा राखिएको नाम हो । किरात लिम्बू भाषामा ‘माङ’ भन्नाले देवी देवता, ‘से’ भन्नाले चुनेको वा छनोट गरेको र ‘बुङ’ भन्नाले बासस्थान, स्थल वा ठाउँ भन्ने बुझिन्छ । तसर्थ, किरात लिम्बू भाषाबाट देवी देवताको बासस्थान भएको स्थल वा ठाउँ भन्ने अर्थमा माङसेबुङ नामाकरण गरिएको हो । अर्थात ‘माङसेबुङ’ भन्नाले माङ (ईश्वर) ले रोजेको पवित्रस्थल भन्ने बुझिन्छ ।

धार्मिक तीर्थस्थल र शाकाहारी शहरको पहिचान बोकेको इलामको माङसेबुङ किरात धर्मावलम्बीको आस्थाको केन्द्रस्थल हो । नगरोन्मुख शहर माङसेबुङ, इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ र ५ मा अवस्थित छ । माङसेबुङमा किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्यूहरु वि. सं. २०३५ सालदेखि स्थायी बसोबास गर्दै आउनु भएको छ । संसारभर रहेका किरात धर्मावलम्बीहरूको मुजोत्लुङ (केन्द्रीय) माङहिम र किरात साम्जीक मुन्धुम अध्ययन् अध्यापन हुने निसामहिम पनि माङसेबुङमै रहेको छ ।


किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले पुर्खौंली थलो इलामको माङसेबुङ गाउँपालिका २, साविक इभाङ चुक्चिनाम्वा छाड्नु भएपछि आश्रम निर्माणका लागि ताप्लेजुङको कावेली, पान्थरको रबी, फुडसेड, नवमीडाँडा, इलाम बाँझोको नवमी, मानपुर, झापाको दमक छनोट गर्नुभएको थियो ।

तर, सो स्थानहरूमा स्थायी बसोबासका लागि गुरूआश्रम निर्माण हुन सकेन । अन्त्यमा वहाँहरु स्थायी वसोवास गर्न बाँझो आदिपुर लारुम्बामा पुग्नुभयो । वहाँहरु लारुम्बामा बसोबास गरेर माङसेबुङको सामाजिक, धार्मिक, सांस्कृतिक र भौतिक विकासमा अहोरात्र लागिपर्नुभयो । परिणामस्वरूप माङसेबुङ किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ । माङसेबुङको पूर्वी मोहडामा लारुम्बा गाउँ रहेको छ । लारुम्बामा वि.सं. २०३५ मा किरात धर्मगुरूको निजी आश्रम निर्माण गरिएको थियो ।


त्यसपछि धर्मगुरूको दर्शनभेट, मुन्धुम अध्ययन र गुरू नुमाङगेन्नाका लागि प्रत्येक साल भक्तजन आउने–जाने क्रम बढ्दै गयो । यसैक्रममा वि.सं. २०५० को दशकमा आइपुग्दा गुरू माङगेन्नामा सहभागी हुन ठूलो संख्यामा भक्तजन उपस्थित हुन थाले । त्यसपछि माङहिम र फराकिलो कार्यक्रम स्थल निर्माणका निम्ति धर्मगुरूले मान्द्रेडाँडालाई रोज्नुभयो । वि.सं. २०४९ मा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको पहलमा मान्दे्रडाँडामा जग्गा खरिद गरियो ।

सो स्थानमा वि.सं. २०५० कात्तिक २५ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १०९ औं जन्मजयन्तीको अवसरमा किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनले विश्व शान्ति तथा मानव एकताका लागि महावत्ती र अखण्ड धुनी प्रज्वलन गरेर किरात केन्द्रीय माङहिम ुकिरात हाडसाम मुजोत्लुड माङहिमु को उद्घाटन गर्नुभएको थियो ।

यसरी मान्द्रेडाँडामा माङहिम स्थापनापछि सो स्थानको नाम किरात मुन्धुमी भाषामा नामाकरण भयो, माङसेबुड । त्यसपछि माङसेबुङलाई किरात धर्मावलम्बीको केन्द्रीय धार्मिकस्थलको रूपमा श्रद्धा गर्न थालिएको छ । सुरुका दिनहरूमा माङहिम अवस्थित मान्द्रेडाँडालाई मात्र माङसेबुङको रूपमा चिनिन्थ्यो । तर, समयसँगै माङसेबुङको चर्चा हुँदै जाँदा यसको क्षेत्र पनि विस्तार भएर गएको छ । मानिसको बसोबास र भौतिक संरचना बढ्दै गएपछि साविक बाँझोको ८ र ९ वडामा फैलिएको माङसेबुडलाई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै राज्य पुनः संरचना हुने शिलसिलामा इलाममा १० वटा स्थानीय संरचना बनाउँदा माङसेबुङ गाउँपालिका पनि बन्न सफल भएको छ । साविक बाँझो, इभाङ र गजुरमुखि गा.वि.स.लाई समायोजन गरी माङसेबुङ बनाइएकोले यसको क्षेत्र बृहत बनेर विस्तार भएको हो ।


यसरी केन्द्रीय धार्मिक तीर्थस्थल माङसेबुङमा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिमको शाखा माङहिमहरु देश विदेशमा गरी करिब डेढ सयको संख्यामा निर्माण भई विश्व शान्ति तथा मानव एकताको लागि दैनिक सेवा पूजा हुँदै आएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले जनाएको छ । यसै शाखा माङहिमहरुको अवस्थाबारे बुझ्न र आवश्यक नीति निर्देशन गर्न किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले जागरण अभियान मार्फत किरात माङहिमहरुको भ्रमण, अनुगमन र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नेपालको विभिन्न जिल्लामा रहेको माङहिमहरुको भ्रमण साथै अनुगमन गर्ने कार्यक्रमको सुरुवात गत साउन २१ गतेबाट भएको हो । पहिलो चरणमा झापा, सुनसरी, उपत्यका र खोटाङ जिल्लामा रहेका किरात माङहिमहरुमा कार्यक्रम सम्पन्न गरिएको छ ।


किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, कुसुम लिङ्देन तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेम लगायतको उपस्थित रहेको थियो । भने, केहीँ ठाउँको कार्यक्रममा माङगेन्ना समिति सदस्य हस्तबहादुर चेम्जोङ, हाङसाहाङ वनेम समेत टोलीमा सहभागी भएका थिए ।

अभियान टोलीले पहिलो दिन झापाको दमक बेलडाँगीमा अवस्थित किरात माङपोक्लुङ माङहिम, किरातेश्वर युमा माङहिम र किरात माङसेलुङ माङहिममा माङगेन्ना समितिले अनुगमन गरेको थियो । यसरी अनुगमन तथा भेटघाट कार्यक्रम किरात माङपोक्लुङ माङहिमको आयोजनामा माङहिम व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर साम्पाङको अध्यक्षतामा धार्मिक अभियान कार्यक्रम गरिएको थियो भने, दोस्रो चरणको कार्यक्रम किरात माङसेलुङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर माङपाहाङको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।


अभियान टोलीले दोस्रो दिन झापाको कमल गाउँपालिका ५, लखनपुरमा अवस्थित किरात धर्मशाला श्री सिद्ध किरात पारुहाङ माङहिम र कमल गाउँपालिका ३, मा अवस्थित किरात तियेलुङ चोत्लुङ माङहिममा माङगेन्ना समितिले अनुगमन गरेको हो ।

यसरी किरात तियेङलुङ चोत्लुङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष सूर्य यक्पाङदेनको अध्यक्षतामा धार्मिक अभियान कार्यक्रम गरिएको थियो भने, किरात धर्मशाला श्री सिद्ध किरात पारुहाङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष श्री चाम्लीङको अध्यक्षतामा अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको थियो ।

तेस्रो दिन झापाको शिवसताक्षी नगरपालिका ९, चिल्लागढमा अवस्थित किरातेश्वर हाङसाम माङहिम, शिवसताक्षी नगरपालिका १०, दोमुखामा रहेको किरात हाङसाम पवित्र युमा माङहिम, शिवसताक्षी नगरपालिका माइधारमा अवस्थित किरात खिजोत्लुङ माङहिम, शिवसताक्षी नगरपालिका ११, झिलझिलेमा अवस्थित किरात हाङसाम कुवोराक माङहिम र शिवसताक्षी नगरपालिका ९, डुडामारीमा अवस्थित किरात निङवाभू माङहिममा माङगेन्ना समितिले अनुगमन गरेको हो ।


किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष कूलबहादुर लाओती, सदस्य पूर्णकार्की ढोली, किरात हाङसाम पवित्र युमा माङहिम व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर योङया, साङदाङगेन वरुमसाबा धर्मराज सेर्मा लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

अभियान कार्यक्रमका प्रमुख वक्ता किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अवलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

अभियान टोलीका प्रमुख वक्ता माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको हो ।


चौथो दिन कन्काई नगरपालिका ७, मा अवस्थित किरात मुक्साम युमा माङहिममा र झापाको अर्जुनधारा नगरपालिका ३, खुदुनाबारीमा रहेको किरात फाल्गुनन्द मिङसो माङहिममा अनुगमन, निर्देशन तथा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

किरात मुक्साम युमा माङहिममा माङहिम व्यवस्थापन समितिका अध्यक्ष धनपाल कन्दङवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माङहिम व्यवस्थापन समितिका सचिव हर्कबहादुर आङबोले गरेको थियो । भने, दोस्रो चरणमा लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा माङहिम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन माङगेन्ना समितिका केन्द्रीय सदस्य कुसुम लिङ्देनले गरेको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष कूलबहादुर लाओती, सदस्य पूर्णकार्की ढोली, मुन्धुमी शिक्षा व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङ लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।


अनुगमन कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिका ४, मा जुनेली बस्ती अवस्थित किरात हाङसाम युमा माङहिम, बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा रहेको किरात हाङसाम तुमथेबा माङहिममा अनुगमन गरिएको थियो । त्यसपछि बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा अवस्थित किरात हाङसाम थेबा माङहिममा अनुगमन र तीन वटैं माङहिमको संयुक्त आयोजनामा धार्मिक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा किरात हाङसाम युमा माङहिम अध्यक्ष धनपाल लिङखिम, किरात हाङसाम तुमथेबा माङहिम अध्यक्ष अर्जुन कुमार लाओती, किरात हाङसाम थेबा माङहिम अध्यक्ष नन्दकुमार इधिङगो लगायतको उपस्थित भएका थिए । माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक अभियान कार्यक्रम अन्तर्गत विभिन्न शाखा माङहिमहरुको अनुगमन तथा धार्मिक प्रशिक्षण सञ्चालन गर्ने क्रममा समितिले दुई दिन गरी ७ वटा शाखा माङहिमहरुमा अनुगमन सहित कार्यक्रम गरेको हो । यो सँगै झापाको कार्यक्रम सम्पन्न भएको छ ।


अनुगमन कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिका २, साम्यो चोक अवस्थित किरात हाङसाम फक्ताङलुङ कुबोराक माङहिम, कचनबवल गाउँपालिका ७, मा बालुवारीमा रहेको किरात इक्सा माङहिम, भद्रपुर नगरपालिका २, पृथ्वीनगर रहेको किरात नाम्बित्लुङ माङहिम, हल्दीबारी ३, स्वर्गद्धारीमा रहेको किरात तेमेन युमा माङहिम, विर्तामोड १० सैनिक बजारमा रहेको किरातेश्वर माङहिम, शिवसताक्षी ११ सतासीधाममा रहेको किरात तेमेनलुङ माङहिम, हल्दीबारी १ गोल्धापमा रहेको किरात आत्मा पवित्र सेवालुङ माङहिममा अनुगमन, निर्देशन तथा धार्मिक प्रशिक्षण गरिएको छ ।

यसरी झापाको भ्रमण सकेर सुनसरीको कार्यक्रम गरिएको थियो । किरातेश्वर हाङसाम युमा माङहिम बराहक्षेत्र नगरपालिका ३, भरौल सुनसरी, किरात युमा माङहिम इटहरी उप महानगरपालिका तालतलैया सुनसरी र किरात युमा माङहिम धरान उपमहानगरपालिका १५ सुनसरीलाई पनि अनुगमन गरिएको छ ।

त्यसपछि उपत्यकामा अवस्थित किरात माङसेसे हाङसाम माङहिम महालक्ष्मी ८, लुभू ललितपुरमा अनुगमन सहित प्रशिक्षण कार्यक्रम गरिएको छ । माङहिम सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कुरुम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियान टोलीले प्रशिक्षण दिएको थियो ।


पहिलो चरणको कार्यक्रम अन्तर्गत अन्तिममा किरातेश्वर युमा माङखिम रावाबेँशी गाउँपालिका कुभिण्डे, दम्कु खोटाङमा पनि अभियान टोली पुगेको थियो । यसरी साउन २१ देखि भदौं १ गतेसम्म पहिलो चरणको अभियान टोलीमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, कुसुम लिङ्देन, माङगेन्ना समिति सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेम रहनु भएको थियो ।