किरात निङवाभू माङहिममा भेटघाट कार्यक्रम सम्पन्न


दमक/किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले झापाको शिवसताक्षी नगरपालिकामा अवस्थित किरात निङवाभू माङहिममा धार्मिक जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक अभियान कार्यक्रम अन्तर्गत विभिन्न शाखा माङहिमहरुको अनुगमन तथा धार्मिक प्रशिक्षण सञ्चालन गर्ने क्रममा समितिले शनिबार ५ वटा शाखा माङहिमहरुको संयुक्त संयोजनमा कार्यक्रम भएको हो ।

 


मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको माङगेन्ना समितिले जनाएको छ ।

 


अभियान कार्यक्रमका प्रमुख वक्ता किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अबलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, माङगेन्ना समिति सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेमको उपस्थिति रहेको थियो ।

अभियान टोलीले तेस्रो दिन झापाको शिवसताक्षी नगरपालिका ९, चिल्लागढमा अवस्थित किरातेश्वर हाङसाम माङहिम, शिवसताक्षी नगरपालिका १०, दोमुखामा रहेको किरात हाङसाम पवित्र युमा माङहिम, शिवसताक्षी नगरपालिका माइधारमा अवस्थित किरात खिजोत्लुङ माङहिम, शिवसताक्षी नगरपालिका ११, झिलझिलेमा अवस्थित किरात हाङसाम कुवोराक माङहिम र शिवसताक्षी नगरपालिका ९, डुडामारीमा अवस्थित किरात निङवाभू माङहिममा माङगेन्ना समितिले अनुगमन गरेको हो ।

 


किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष कूलबहादुर लाओती, सदस्य पूर्णकार्की ढोली, किरात हाङसाम पवित्र युमा माङहिम व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर योङया, साङदाङगेन वरुमसाबा धर्मराज सेर्मा लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रमको चौथो दिन कन्काई नगरपालिका ७, मा अवस्थित किरात मुक्साम युमा माङहिममा पहिलो चरणको कार्यक्रम हुनेछ भने, दोस्रो चरणमा किरात फाल्गुनन्द मिङसो माङहिममा कार्यक्रम हुनेछ ।

 

यसरी आयोजित अभियान कार्यक्रम किरात निङवाभू माङहिम व्यवस्थापन समितिका उपाध्यक्ष भीमप्रसाद सेर्माको अध्यक्षतामा धार्मिक अभियान कार्यक्रम गरिएको थियो भने, कार्यक्रमको सञ्चालन माङहिम व्यवस्थापन समितिका सह सचिव धनबहादुर सेर्माले गरेको थियो ।