धर्म थाम्ने नालीफूङ्वा


धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा मिति २०६३ मंसिर २३ गते आयोजित किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको दोस्रो ऐतिहासिक सम्मेलनमा अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले दिनुभएको माङ आशीर्वचनको सम्पादित अंश

ओत् तागेरा निङवाभूमाङे सेवारो

श्रद्धालु भक्तप्रेमी,
धार्मिक मञ्चमा उपस्थित उपप्रधानमन्त्री अमिक शेरचनज्यू, सुरक्षाकर्मी मित्रहरू, पत्रकार बन्धुहरू र नालीफूङ्वा मित्रहरू ।

 

आज नालीफूङ्वा पान्जुम्भोका दोस्रो ऐतिहासिक सम्मेलन सम्पन्न हुन गइरहेको छ । नालीफूङ्वा पान्जुम्भो किरात धर्मका युवाहरूको संगठन हो । मैले नालीफूङ्वाहरूलाई शान्तिको पक्षमा, धर्म, संस्कार, संस्कृतिको पक्षमा लाग्न सम्झाउँदै आएको छु ।

 

भोलि यो धर्म, भाषा, लिपि, संस्कृति थाम्ने, प्रचारप्रसार र विकास गर्ने नालीफूङ्वाहरू नै हुन् । यो धर्मलाई थाम्ने नालीफूङ्वाहरूले नै काँध थाप्नुपर्छ । नालीफूङ्वाले सोच्नु पर्ने, सिक्नु पर्ने र होसियार हुनु पर्ने धेरै कुरा छन् । धार्मिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा सोच्ने दिन आएको छ । यसका साथै आफ्नै भविष्य निर्माणमा पनि ध्यान दिनुपर्छ । अहिले धेरै खालका दुव्र्यसनीहरू आएका छन् । विभिन्न रोगहरू आएका छन् । यसबाट बच्नुपर्छ ।

 

म नालीफूङ्वाहरूलाई महागुरुले निर्माण गर्नुभएको सत्य धर्म मुचुल्कालाई ध्यान दिन अनुरोध गर्न चाहन्छु । वि.सं. १९८८ वैशाख २४ गते महागुरु फाल्गुनन्दले किरातीहरूको चुम्लुङ गराएर सत्य धर्म मुचुल्का बाँध्नुभएको थियो । मुचुल्कामा वहाँले बलि पूजा नगर्ने, सोतरीत नखाने, माङहिम निर्माण गर्ने, लिखित मुन्धुम चलाउने, आफ्नो मातृभाषामा शिक्षा लिने, दिने गर्नु पर्छ भन्नुभएको छ । माङसेवा गर्दा जीव हत्या नगर्नु भन्नुभएको छ । महिला स्वतन्त्रतामा जोड दिनुभएको छ । महिलालाई माङसा समान मान्नु पर्छ भन्नुभएको छ । कर्म संस्कार गर्दा कम खर्चमा गर्नु पर्ने भनिएको छ । यो अहिले पनि युग सुहाउँदो छ । वहाँले भन्नुभएको धेरै कुरा पुगेको पनि छ । हामीले यी कुरालाई कहिल्यै भूल्नु हुँदैन ।

 

हामीलाई महागुरु फाल्गुनन्दबाट थुप्रै ज्ञान प्राप्त भएको छ । वहाँले भन्नुभएको थियो, पछि तिमीहरूको धर्म के भनेर सोध्छन् । त्यतिबेला किरात धर्म भन्नु । आफ्नो धर्म कहिल्यै नछोड्नु । राज्यको कानुनले मान्न नदिए कर तिरेर पनि धर्म मान्नु’ भन्नुभएको छ । त्यसैले नालीफूङ्वाहरूलाई यो धर्म जुनसुकै अवस्थामा पनि नछोड्न भन्छु ।

 

यहाँ थुप्रै नेता, मन्त्री, प्रधानमन्त्री, राजा पनि आएको छ । सम्मान प्राप्त गरेर जान्छन् । तर, हाम्रो विकासका निम्ति केही पनि गरेका छैनन् । आज भाग्यवस हाम्रै किराती उपप्रधानमन्त्री अमिक शेरचन उपस्थित हुनुभएको छ । वहाँ स्वास्थ्य मन्त्री पनि हुनु हुन्छ । वहाँलाई मेरो अनुरोध यहाँ स्वास्थ्य उपचारको ठूलो समस्या छ । यहाँ अस्पताल चाहियो । यहाँ बिमारी भयो भने दमक वा विराटनगर पुग्नु पर्छ । यहाँको स्वास्थ्यका लागि काम गर्नु पर्यो । अस्ती भर्खर सुवासचन्द्र नेम्बाङलाई पनि यहाँ बाटो राम्रो बनाउनु पर्यो भनेको छु ।

 

हाम्रा किरातीहरूले पनि राजनीतिमा माथि जान सकुन् भन्ने मेरो आशीर्वाद छ । पहिला किरातीहरूलाई ठूलो ठाउँमा जान दिँदैन थिए । मैले स्वयं देखेको छु । मलाई त्यतिबेला लाग्यो, हामीलाई कति दबाइएको रहेछ । राज्यले कति विभेद गर्छ । बहुदल, लोकतन्त्र आएपछि थकालीजी उपप्रधानमन्त्री हुनु भयो । पूर्व लिम्बुवानका पद्मसुन्दर लाओती गृहमन्त्रीसम्म हुनु भयो । अन्य धेरै मन्त्रालयको मन्त्री बन्नु भयो । तर, दुःख लाग्दो वहाँहरूले आफ्नो धर्म (किरात धर्म) लाई हेर्नुभएको छैन । आफ्ना निम्ति मात्र हेर्नुभएको छ । अब मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति हुन्छन् किरातीहरू । त्यतिबेला किरात धर्म, भाषा, लिपि, संस्कृतिलाई भुल्नु हुँदैन ।

 

यसको विकास र संरक्षणमा लाग्नु पर्छ । आफ्नो घर आफैँ बनाउनु पर्छ । अहिले हाम्रा नेताहरू नयाँ नेपाल निर्माण गर्ने भन्छन् । पहिले पनि नयाँ नेपाल बनाउने भन्थे । बनाउन चाहिँ केही बनाएका छैनन् । मलाई त विश्वास नै लाग्न छाडेको छ । हिजो माओवादी आयो । मारामार भयो । यो माङहिम झन्दै जलाइदिए । यो ग्राउण्डमा परेड खेल्ने भने । मैले ‘यो ठाउँ तपाइँहरूको पनि सेवा गर्ने ठाउँ हो । हतियार चाहीँ पर राखेर मात्र आउनुस् है’ भनेको थिएँ । भोलि त शान्ति चाहिन्छ, धर्म त चाहिन्छ है भनेका थिएँ । शान्ति बिना कसरी राज्य सञ्चालन र विकास गर्नु हुन्छ भनेको थिएँ ।

 

गन्थन त धेरै थियो । समय छोटो छ । आज उपप्रधानमन्त्री व्रत बसेर माङसेवा गर्दै आउनुभयो भन्ने सुनेर मलाई धेरै खुशी लागेको छ । धार्मिक हिसाबले आउनुभएको रहेछ । वहाँलाई मेरो आशीर्वाद छ । मेरो चेलाहरु सबै जातिका छन् । सूर्यले सबैलाई ताप दिए भैँ मैले पनि सबैलाई ज्ञान दिनु पर्ने हुन्छ । आशीर्वाद दिनु पर्छ ।

 

अन्त्यमा, मेरो सम्पूर्ण भक्तजन र मानवलाई रक्षा होस् । शान्तिसँग जीउन पाऔँ । दिगो शान्ति होस् भन्ने आशीर्वाद दिँदै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु । आसेवारो, तियाहा ।