
दमक/किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले शुक्रबार झापाको कमल गाउँपालिकामा अवस्थित किरात तियेङलुङ चोत्लुङ माङहिम धार्मिक जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको माङगेन्ना समितिले जनाएको छ ।

माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक अभियान कार्यक्रम अन्तर्गत विभिन्न शाखा माङहिमहरुको अनुगमन तथा धार्मिक प्रशिक्षण समेत सञ्चालन गर्ने कार्यक्रम रहेको माङगेन्ना समितिका महासचिव शक्तिकुमार साँबाले बताउनु भएको छ ।

अभियान कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अबलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, खडक खालिङ, माङगेन्ना समिति सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेमको उपस्थिति रहेको थियो ।

अभियान टोलीले दोस्रो दिन झापाको कमल गाउँपालिका ५, लखनपुरमा अवस्थित किरात धर्मशाला श्री सिद्ध किरात पारुहाङ माङहिम र कमल गाउँपालिका ३, मा अवस्थित किरात तियेलुङ चोत्लुङ माङहिममा माङगेन्ना समितिले अनुगमन गरेको हो ।

यसरी किरात तियेङलुङ चोत्लुङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष सूर्य यक्पाङदेनको अध्यक्षतामा धार्मिक अभियान कार्यक्रम गरिएको थियो भने, किरात धर्मशाला श्री सिद्ध किरात पारुहाङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष श्री चाम्लीङको अध्यक्षतामा अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात धर्म तथा साहित्य उत्थान संघ झापा जिल्ला अध्यक्ष लक्ष्मीकुमार योङहाङ, किरात खिजोत्लुङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष हर्क येक्तेन लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।












