धार्मिक जागरण अभियान किरात माङपोक्लुङ माङहिमबाट सुरु


दमक/किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले धार्मिक जागरण अभियानलाई विहिबार झापाको बेलडाँगीमा अवस्थित किरात माङपोक्लुङ माङहिमबाट सुरु गरेको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको माङगेन्ना समितिले जनाएको छ ।

 

माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक अभियान कार्यक्रम अन्तर्गत विभिन्न शाखा माङहिमहरुको अनुगमन तथा धार्मिक प्रशिक्षण समेत सञ्चालन गर्ने कार्यक्रम रहेको माङगेन्ना समितिका महासचिव शक्तिकुमार साँबाले बताउनु भएको छ ।

 


अभियान कार्यक्रमको सुरुवातमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अबलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, खडक खालिङ, माङगेन्ना सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेमको उपस्थिति रहेको थियो ।

अभियान टोलीले पहिलो दिन झापाको दमक बेलडाँगीमा अवस्थित किरात माङपोक्लुङ माङहिम, किरातेश्वर युमा माङहिम र किरात माङसेलुङ माङहिममा माङगेन्ना समितिले अनुगमन गरेको हो ।

 


यसरी अनुगमन तथा भेटघाट कार्यक्रम अन्तर्गत किरात माङपोक्लुङ माङहिमको आयोजनामा माङहिम व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर साम्पाङको अध्यक्षतामा धार्मिक अभियान कार्यक्रम गरिएको थियो भने, दोस्रो चरणको कार्यक्रम किरात माङसेलुङ माङहिम व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर माङपाहाङको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।