
ज्ञानु केदेम ‘मुक्साम’
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङज्यूले गत फागुन २ गते साँझमा नयाँ विषय विश्व शान्ति तथा मानव एकताका लागि सावायेहाङ किरात मुइ चक्मा सेवा गर्नुपर्ने कुरा सुनाउनु भयो । पहिलो पटक सुन्दा यसको महिमाबारे प्रष्ट बुझ्न कठिन हुने मुइ चक्मा सेवाको महत्व र ऐतिहासिकताबारे कार्यक्रमको आखिर चरणमा पुग्दा मात्र प्रष्ट बुझ्न र सबैलाई बुझाउन सकियो ।
फागुन ३ र ४ गते विगतका वर्षझैं मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोह इलामको माङसेबुङ ५, मा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा भव्य मनाइयो । ४ गते सकिने पूर्व निर्धारित सो कार्यक्रममा ५ गते मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको हस्तबाहुलीबाट माङवाहाङवा (टीका) ग्रहण कार्यक्रम ऐतिहासिक रुपमा जोडिन पुग्यो ।

यसरी कार्यक्रमको चटारोका बीच फागुन ६ गते गुरु निजी आश्रम लारुम्बामा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देवसमुपस्थितिमा किरात धार्मिक संघ संस्थाहरुको संयुक्त बैठक बस्यो । सो बैठकले विश्व शान्ति तथा मानव एकताका लागि सावायेहाङ किरात मुइ चक्मा सेवा गर्ने निर्णय ग¥यो । सोही निर्णय अनुसार २०८२ चैत ५ गते गुरु निजी आश्रम लारुम्बामा पित्याम सेवा (गोठपूजा) हुने निश्चित भयो । त्यसपछि चैत ६, ७, ८ र ९ गते माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा एक लाख एक हजार आठ लिङ्गो सहित बृहत साक्मुरा वादेम्मा सेवा गर्ने निर्णय भयो । सोही ठाउँमा एक लाख एक हजार आठ दीप प्रज्वलनसँगै येत् नाम्धुङ लाधुङसेमी सेवा गरी सामलक्मा कार्यक्रम पनि गरिने निश्चित भयो ।
सेवा अन्तर्गत चैत १०, ११ र १२ गते विश्व शान्ति तथा मानव एकताका लागि गुरु निजी आश्रममा अवस्थित सिद्ध किरातेश्वर हाङसाम माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा हुने र चैत १३ गते गुरु निजी आश्रम लारुम्बामा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देवसमुपस्थितिमा विश्व शान्ति तथा मानव एकताका निम्ति सावायेहाङ किरात मुइ चक्मा सेवा भव्यताका साथ सम्पन्न गर्ने ऐतिहासिक निर्णय भयो ।
सो बैठकले किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा सेवा समिति पनि गठन ग¥यो । वैठकको निर्णय अनुसार समितिमा अर्थ संयोजक गुरु निजी आश्रम अर्थ समितिका अध्यक्ष तारावीर नेम्बाङ सहित अर्थ सचिवहरु ५ जना रहने र प्रचारप्रसार विभाग किरात इङभो पान्जुम्भोले बहन गर्नुपर्ने भयो । प्रचारप्रसार विभागीय संस्थाको सचिवको जिम्मेवारीले प्रचारप्रसारको संयोजन मैले गर्नुपर्ने भयो । त्यसको लगतै दोस्रो बैठक फागुन ७ गते किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको कार्यालयमा बसेर सेवाको आवश्यक जिम्मेवारी विभाजन, अर्थ नीति र सेवाको तयारीका लागि बृहत छलफल गरी विभिन्न विभागहरु गठन भयो ।

त्यसपछि आफ्नो विभागीय जिम्मेवारी बहन गर्ने शिलशिलामा पोष्टर छपाई र वितरण गर्ने काममा लागियो । प्रचारप्रसार डिजिटल माध्यममा गर्ने भनेर सोही अनुसार काम गरियो । प्रचार प्रसारको सुरुवातमा सम्पर्क कार्यालय स्थापनाको लागि व्यानर तयारीदेखि पोष्टर निर्माणमा निरन्तर लाग्ने क्रममा योगेश लाओती, सुमन लाओती लगायत अन्य साथीहरुले पनि सहयोग गरे ।
सेवाको तयारीमा आ आफ्नो विभागीय जिम्मेवारी अनुसार सबै जना लागियो । पूर्व निर्धारित कार्यक्रम अनुसार चैत ६ गते माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा साक्मुरा वादेम्मा हुने कार्यक्रमलाई एक दिन पछि ७ गते मात्र हुने भएकोले ६ गते साँझ मात्र योगेशसँग फुलुङगी पुग्यौं । फुलुङगीमा काम गर्ने कार्यकर्ता र भक्तजनहरु आराम गर्नलाई डेरा बनाइएको थियो । योगेश र मैले चाहीँ सेवा समारोहको आर्थिक सचिवालय बस्ने र सुत्ने ठाउँमा सुत्ने निश्चित गरियो । अर्को डेरामा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङज्यू लगायतको टोली थियो ।

त्यो रात पानीसँगै आएको हुरी बतासले हामीलाई बिजोग बनायो । सुताई असहज भएपनि जसोतसो रात कटाइयो । माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङ विहान साढे ३ बजेतिर उठ्नु भयो । त्यसपछि केही साथीहरुसँग खोलातिर लाग्नु भयो । साक्मुरा वादेम्माको लागि खोलामा बनाइएको पूल, सजाइएको एक लाख एक हजार एक सय आठ लिङ्गोहरु खोलाले भत्कायो, बगायो कि भन्ने चिन्तन थियो सबैलाई । यसको चिन्तनले सायद अध्यक्षज्यूको निद्रा लागेन र सबेरै अनुगमनमा जानु भयो । खोलामा पुग्दा पानीको बहाव बढेकोले लिङ्गोहरु केही लडाएको अवस्थामा थियो । धन्न साक्मुराको लागि बनाइएको पूल चाहीँ राम्रै थियो ।
लिङ्गो उठाउन माङगेन्ना अध्यक्षज्यूले गुरु निजी आश्रमको जेसिविलाई बोलाउनु भयो । मेसिन आएपछि मेसिन र भक्तजनहरुको सक्रियताले पुनः लडेको लिङ्गोहरु उठाउने काम भयो । मौसमको कडा चुनौतिका बीच बाँकी रहेका सेवा सामग्रीहरु जुटाउँदै, तयारी गर्दै ७ गतेको समय वित्यो । साँझमा साक्मुरा वादेम्मा गर्दा पान् तुम्याहाङ र तेन् तुम्याहाङको भूमिका के कस्तो हुन्छ र हुनु पर्छ ? भन्ने विषयमा तुम्याहाङ र तेन् तुम्याहाङहरुसँग छलफल गर्ने कार्यक्रम समेत भयो । सो छलफलपछि करिब १० बजेतिर केही समयका लागि सबैजना आराम गरियो । रातको अन्दाजी साढे १२ बजेतिर उठेर मेक्वा खोलामा नुहाएर माई खोला पुगियो ।
माङगेन्ना अध्यक्षज्यू म भन्दा अघि खोलामा पुग्नु भएको थियो । खोलाबाट खाजोङ टोली र माङसेवासाबा टोलीलाई अध्यक्षज्यूले फोन गर्नु भयो । तयारीको लागि सबैलाई उठाउने काम भयो । त्यसपछि खाजोङ टोली आइपुगेर साक्मुराको सबै तयारी गरे । साढे १ वजेतिर मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरु पनि सेवास्थलमा आई पुग्नु भयो । त्यसपछि साक्मुरा मुन्धुम वाचन सुरु भयो । प्रचारप्रसार विभागको जिम्मेवारी फोटो, भिडियो खिच्ने काम निरन्तर भयो । यसमा योगेश, सुमन, राजेन्द्र, सुनिल लगायत साथीहरु लगातार लाग्नु भएको थियो । माङसेवासाबा, पान् तुम्याहाङ, तेन् तुम्याहाङहरुले पालैपालो आ आफ्नो भूमिका वाचन गरिसक्दा विहानको ५ वजिसकेको थियो ।

यसरी ८ गते विहान करिब ५ वजेतिर विश्व शान्ति तथा मानव एकताको लागि सावायेहाङ किरात मुई चक्मा सेवाको साक्मुरा वादेम्मा सेवा सकिएको थियो । सोही अवसरमा मुहिङगुम अङसीमाङ्ज्यू तथा मुहिङगुम अङसीमामाङ्ज्यूबाट साक्मुरापछि एक लाख आठ हजार एक सय आठ लिङ्गो पुज्ने काम पनि भयो । त्यसपछि विहान येत् नाम्धुङ लाधुङ सेमी सेवाको तयारी गरेर दिनमा सेवा भयो । साँझमा सेवा समापन भएपछि मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यूले ज्ञान प्राप्त गर्नु भएको ठाउँ फुलुङगीको गुफाडाँडामा दीपप्रज्वलनको काम भयो । जम्मा १ लाख २० हजार बढी तयारी गरिएको दीप प्रज्वलन मध्ये डाँडामा करिब ५० हजार दियो बालिएको थियो । भक्तजनबाट दियोमा तेल र धागो लगाउने र बाल्ने काम धमाधम भइरहेको थियो ।
चिरञ्जीवी दाईको संयोजनमा चलिरहेको दीप प्रज्वलनको तस्बीर खिच्न सो ठाउँमा पुग्दा मैले पनि दीपप्रज्वलनमा हुक्वा मिसाउने अवसर पाए । अधिकांश सेवासाबा र भक्तजनहरु दीपप्रज्वलनको लागि दियो सजाउन खोलामा गएकोले डाँडामा दियो बाल्ने जनको अपुग भयो । हामी जति भएकोले लगातार १० वजेसम्म बाल्दा पनि नसकेकोले दियो बाल्न इत्छुक भक्तजनहरुलाई खबर गरी डाँडामा पठाउन र खाना खान कैलास दाई र म चाहीँ तल भान्सातिर झ¥यौं । खाना खाएर रातको २ बजेसम्मको लागि आराम गरियो ।

विहान २ बजे पुनः उठेर सरसफाई गरी साक्मुरा वादेम्मा गरिएको स्थल माइ खोलामा पुगियो । ९ गते विहान पनि सबैभन्दा पहिले माङगेन्ना अध्यक्षज्यूनै खोलामा पुग्नु भयो । खोलाको बगरमा बनाएको प्राविधिक सुत्ने ठाउँ नजिक आगो बाल्ने र केही समय आगो ताप्ने काम भयो । अध्यक्षज्यूबाट विभागिय जिम्मेवारी कर्तालाई फोन मार्फत विभाग सम्हाल्न निर्देशन भयो । साउण्ड सिस्टमका प्राविधिकलाई माङसिवाखाहुन बजाउन लगाइयो । भक्तजन सुतेको डेरातर्फ हर्न घुमाएर निरन्तर माङसिवाखाहुन बजाउँदै बसियो । केही समयपछि खाजोङ टोली र माङसेवासाबाको टिम आएपछि उनीहरुले तयार गर्ने खाजोङहरु सबै तयार गरे ।
त्यसपछि सबै भक्तजनहरु पनि खोलामा आइपुगे । सावायेहाङ किरात मुई चक्मा सेवा अन्तर्गत सो दिन खोलामा साम् लक्मा गर्ने कार्यक्रम थियो । करिब विहानको ४ वजेतिर मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव सवारमा एक लाख एक हजार एक सय आठ लिङ्गो र एक सय आठ तामा गांग्रीको अगाडि सजाइएको दियोहरु भक्तजनहरुले बालेर देव स्वागतसँगै दीपप्रज्वलन गरिएको थियो ।

साम् लक्मा सेवामा पनि साक्मुरा वादेम्मा सेवा जस्तै माङसेवासाबा र तुम्याहाङहरुले आ आफ्नो भूमिका अनुसार वाचन गरेको थियो । सो अवसरमा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूले माइखोलामा महत्वपूर्ण माङ आशीर्वचन समेत दिनु भएको थियो । खोलामा सामलक्मा कार्यक्रम सकिएपछि त्यहाँ सजाइएको गाग्रोहरु काँधमा बाकेर माङसेबुङको गुरु निजी आश्रमको लागि पैदल यात्रा सुरु भयो । फुलुङगीमा अवस्थित येत् नाम्धुङ लाधुङ सेमी सेवास्थलमा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूले सेवाको महत्व र गांग्रीमा पानी लैजानुको महत्वबारे संक्षिप्तमा आशीर्वचन पनि दिनु भयो ।
त्यसपछि नौमति वाजा, माङलाङ केलाङ सहित गांग्री काँधमा बोकेर पैदल मार्ग माङसेबुङको फुलुङगीदेखि गुरु निजी आश्रम लारुम्बासम्म आइपुगियो । गुरु आश्रम पुगेर गांग्रीहरु विसाएपछि सबै आ आफ्नो घरमा लागे । ९ गतेको कार्यक्रम सकेपछि १०, ११ र १२ गते विश्व शान्ति तथा मानव एकताका लागि गुरु निजी आश्रममा अवस्थित सिद्ध किरातेश्वर हाङसाम माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा भयो । भने, १३ गते गुरु निजी आश्रम लारुम्बामा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देवसमुपस्थितिमा विश्व शान्ति तथा मानव एकताका निम्ति सावायेहाङ किरात मुइ चक्मा सेवाको लागि सेवास्थल र मञ्च, गेट निर्माणको कामहरु धमाधम सुरु भयो । फुलुङगीदेखि गुरु आश्रम हुँदै माङसेबुङ चक्रपथमा तोरण लगाउने काममा विभागीय साथीहरु लाग्नु भयो । एक पटक सबै विभागहरु आ आफ्नो जिम्मेवारीमा पुनः लागियो ।

१०, ११ र १२ गते सबै विभागहरुले आ आफ्नो जिम्मेवारी पूरा गरियो । १३ गते पहिलो चरणमा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको समुपस्थितिमा सावायेहाङ किरात मुई चक्मा सेवाको निम्ति येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरियो । सो सेवामा अङसीमाङ तथा अङसीमामाङको साथमा गुरु परिवारको समेत उपस्थित रहेको थियो । सेवामा सबै भक्तजनले पनि पालैपालो सेवा गर्ने प्रबन्ध मिलाइएको थियो ।

सेवा समापनसँगै मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू पनि नाहेन लाङ्मा सरिक हुन भएको दृश्य धेरैको लागि नौलो र ऐतिहासिक बन्यो । विशेष गरी मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यूले यसरी तरबार नचाएर नाहेन लाङ् नाच्नु भएको दृश्य धेरै कमले मात्र देख्ने गरेको छ । त्यसैले यसरी नाहेन लाङ्मा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू स्वंयम नाच्नुको अर्थ र महत्व केहीँ पक्कै छ भन्ने धेरैको बुझाई छ ।
यसरी नाम्धुङ लाधुङ सेमी सेवापछि महाबत्तिसहित एक हजार एक सय आठ दियो कलश सजाइएको ठाउँबाट सयौं माङसेवासाबाको मुन्धुम वाचनमा माङगेन्ना फोङ्मा र सावायेहाङ मुइ चक्मा सेवा गरियो । मुइ चक्मा सेवामा पान् तुम्याहाङ, तेन तुम्याहाङहरुको तुम्याहाङ मुन्धुमबाट मुई चक्मा सेवा गर्ने आखिर चरणमा अचानक पानी प¥यो । त्यसैले कार्यक्रम सोही दिन पनि पूरा हुन सकेन ।
त्यसैले एक दिन विश्राम गरेर १५ गते जोगिदान गरेर मुइ चक्मा सेवा समापन गर्ने नयाँ तालिका बन्यो । सोही अनुसार जोगिदानको सबै तयारी गरेर जोगिदान सम्पन्न गरियो । त्यसपछि १३ गते बाँकी रहेको मुई चक्मा सेवाको मुन्धुम तुम्याहाङहरुले पूरा गरे । त्यसैगरी करिब आधा घण्टा भन्दा लामो समय मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले माङ आशीर्वचन दिनु भयो । यसरी आशीर्वचनपछि सावायेहाङ किरात माङगेन्ना फोङमा गरेर विश्व शान्ति तथा मानव एकताका निम्ति सावायेहाङ किरात मुइ चक्मा सेवा विधिवत रुपमा सम्पन्न गरियो ।

यसरी भव्य रुपले आयोजना गरिएको ऐतिहासिक मुइ चक्मा सेवाको प्रचारप्रसार विभागको संयोजन गर्ने अवसर पाउँनु पक्कै सौभाग्य हुनुपर्छ । सके र भ्याएसम्म जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर विभागको संयोजन गरियो जस्तो लाग्छ । यसमा केही कमजोरी भए अग्रजको सुझाव र सल्लाहलाई मनन गर्दै आगामी समयमा सुधार गर्ने प्रण गर्छु । त्यो समयमा लिएको तस्बीर र भिडियो सामग्रीहरुलाई ऐतिहासिक र जिवन्त राख्न केही योजना मूल समितिमा मौखिक र अनौपचारिक पेश गरिएको छ । किन कि आयोजक समितिको औपचारिक समापन हुन बाँकीनै छ ।

यसरी चैत ५ गतेदेखि १५ गतेसम्म आयोजित भव्य कार्यक्रममा लगातार ११ दिनसम्म फोटो र भिडियो खिच्ने विभागमा सहयोग गर्ने सबै सञ्चारकर्मी साथीहरुप्रति आभार प्रकट गर्दछु । सेवा सकेको करिब ३ हप्तापछि बैशाख ६ गते दमकमा सञ्चारकर्मी दाई धनबहादुर फागोसँग भेट भयो । दाईले चिया पिउन नुमा होटलमा जाउँ भन्नु भयो । त्यहाँ चिया पिउने क्रममा धार्मिक गन्थन, माङसेबुङको गतिविधि र गत महिना भव्य सम्पन्न गरिएको सावायेहाङ किरात मुइ चक्मा सेवाको ऐतिहासिक महत्वबारे गफ सुरु भयो हामी दाजुभाईबीच । दाजुभाईबीचको चिया गफमा उप्केका प्रसंगहरु सारसंक्षेपमा यहाँ राख्न चाहे ः एक युगमा एक पटक हुने मुइ चक्मा सेवाको ऐतिहासिक महत्वबारे धार्मिक कार्यकर्ता र आम भक्तजन कतिको सचेत छौं भन्ने गम्भीर प्रश्नको जवाफ कर्मद्धारा दिनु आवश्यक छ ।
हामीले मौखिक रुपमा हरेक कार्यहरु ऐतिहासिक र महत्वपूर्ण भनिएको भएपनि व्यवहारिक रुपमा पुष्टि गर्न किरात धर्मजन्य संघसंस्था, यसमा कार्यरत कार्यकर्ता र आम भक्तजनहरु कतिको जिम्मेवार बनेका छौं ? सावायेहाङ मुइ चक्मा सेवा किन आयोजना गर्नु परेको छ ? यसको उदेश्य के हो ? अब हाम्रो मार्ग कुन हो ? हामीले कुन–कुन जिम्मेवारी पूरा गर्न के के काम गर्न बाँकी छ ? त्यो बाँकी रहेका कामहरु पूरा गर्न हामीले कुन–कुन विधि अपनाउन सक्छौं ? यसको खोजी गर्ने बेला भएको होइन र ?

हामीले मुइ चक्मा सेवा गरेर पाएको अवसरलाई चिन्न, बुझ्न र कर्ममा रुपान्तरण गर्न सकेनौं भने हाम्रो अवस्था कस्तो हुन्छ ? हामीलाई कार्यक्रम सफल पार्न हम्मैहम्मै भयो । यसमा जिम्मेवारी अनुसार सबैको सक्रियता थियो । संसारभर रहनु भएका आम भक्तजनहरुले तन, मन र धनले सहयोग गरेर कार्यक्रम भव्यताका साथ मनाइएको छ । सबैको सहभागिता उत्साहजनक थियो । तर, अब यसको महत्व सबैले बुझेर सबैले सेवाको मर्मलाई कर्मबाट पुष्टि गर्न सकिन्छ कि सकिन्दैन ? दर्विलो प्रश्न हामीमा उब्जेको छ । मुइ चक्मा सेवाको महत्वलाई सही तरिकाले बुझ्न र सेवापछिको अवसरलाई औचित्य पुष्टि हुने गरी कर्म (काम) मा रुपान्तरण गर्न ढिलाई भयौं भने पछि पछुतो हुने मात्र त होइनन ?
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले पटक पटक माङ आशीर्वचन दिनेक्रममा सुनाइरहनु भएको अधूरा कामहरु किरात केन्द्रीय माङहिम निर्माण, किरात साम्जीक मुन्धुमको पूर्ण पाठ प्रकाशन लगायत महत्वपूर्ण कामहरु निकट भविष्यमा हामीले पूर्ण बनाउने कर्ममा लाग्ने समयमा पुगेको होइन र ? यसमा पनि गम्भीर चिन्तन मनन गर्न आवश्यक छ ।
किरात धर्म दर्शनमा जे जति अपुरा कामहरु छन् निकट भविष्यमा पूर्ण बनाएको दिन मात्र सम्भवत मुइ चक्मा सेवाको औचित्य पुष्टि हुनेछ । र, अपुरा अधूरा कामहरु पूरा गराउन किरात धर्मजन्य संघसंस्था, यसमा कार्यरत कार्यकर्ता र आम भक्तजनहरु सबै जिम्मेवार बन्न उत्प्रेरित गर्नुनै सायद मुइ चक्मा सेवाको मूल सन्देश हो । सेवाको सन्देशलाई मनन गर्दै औचित्यलाई पुष्टि गर्न सबैले चिन्तन मनन गर्न सकौं, शुभकामना ।














