
माङसेबुङ/धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८ औं संस्करणको आत्मानन्द गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दुधे युथ क्लब झापालाई हराउँदै सिरिजंगा स्पोर्टिङ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज शनिबार भएको सेमिफाइनल खेलमा दुधे झापालाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा मोरङ उपाधि नजिक पुगेको हो ।
सिरिजंगा मोरङको जितमा सञ्जय धिमाल र सौरभ सुब्बाले गोल गरे । यता दुधे झापाका निमा लामाले एक गोल फर्काए । खेलको मेन अफ दी म्याच सिरिजंगा मोरङका सौरभ सुब्बा घोषित भए ।

खेलको १६ औं मिनेटमा निमा लामाको गोलमा पहिलो हाफमा दुधेले सुरुवाती अग्रता लिएको थियो । तर, सुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता दुधेले सेमिफाइनलबाटै बाहिरिनु पर्यो ।
पहिलो हाफका १–० ले पछि परेको सिरिजंगा मोरङ दोस्रोहाफमा खेलमा फर्केको थियो । खेलको ४३औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै सिरिजंगालाई बराबरीमा फर्काए । त्यसपछि खेलको ५२औं मिनेटमा सौरभ सुब्बाले गोल गर्दै सिरिजंगालाई २–१ ले जित दिलाए ।
प्रतियोगिता अन्तर्गत भोली आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङ र दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुनेछ ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन हुने छ । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।












