युकेमा साक्मुरा वादेम्मा तथा आप्लुङगेन ताङसेप चोमेन सेवा हुने


सिक्कुम ज्ञानु फुरुम्बो चरपे

युके/किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा आस्फोर्ड केन्टमा साक्मुरा वादेमा, आप्लुङगेन ताङसेप चोमेन तथा उभौली याक्वा सेवा हुने भएको छ ।

 

 

३१ मे २०२५ गते शनिवारका दिन विगतका वर्ष झै यस वर्ष पनि युके भरि छरिएर बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुको उपस्थितिमा सेवा हुने भएको छ । युकेको विभिन्न स्थानमा बार्षिक आप्लुङगेन ताङसेप चोमेन सेवा निरन्तर हुँदै आएको छ ।

 

 

 

यस वर्ष पहिलो पटक युके भरिका किरात धर्मालवम्बीहरुको सहभागितामा आस्फोर्ड केन्टमा सेवा आयोजना गरिएको आयोजक समिति किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताएको छ ।

 

 

किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनज्यूको सत्य मार्ग दर्शन साथै वर्तमान किरात धर्मगरु, गुरुआमाज्यूहरुको आज्ञालाई आत्मासाथ गर्दै किरात साम्जीक मुन्धुम र संस्कार अनुरुप आप्लुङगेन ताङसेप चोमेन, साक्मुरा वादेम्मा साथै उभौली याक्वा सेवा तथा विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति विशेष नाम्धुङ, लाधुङ सेमी सेवा आयोजना गरिएको किरात साम्यो माङसेवासाबा पान्जुम्भो युकेका अध्यक्ष मंगलसिं लिङ्देनले जानकारी गराएका छन ।

 

 


बेलायतमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिले आयोजना गर्दै आएको कार्यक्रम मध्ये बार्षिक सामूहिक साक्मुरा वादेम्मा, ताङसेप चेमेन तथा उभौली याक्वा सेवा पनि हो । यो सेवामा विभिन्न सामाजिक, धार्मिक, जातीय संघ, संस्थाहरुलाई पनि निमन्त्रणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको र यस पटक हुने बार्षिक सेवालाई पनि भव्य रुपमा सम्पन्न गरिने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताएका छन ।

 

 

सन् २००९ सालमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको स्थापना भए देखि यता निरन्तर रुपमा किरात साम्जिक मुन्धुम, कर्म संस्कार अनुसार विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति युकेको विभिन्न स्थानमा संस्थाले सेवाहरु आयोजना गर्दै आएको छ । महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती, बार्षिक साक्मुरा वदेमा उभौली याक्वा सेवा र सामूहिक माङगेन्ना सेवा जस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गर्दै आएको छ ।