विविध कार्यक्रम गरी संसारभर समाज सुधार दिवस मनाइयो


माङसेबुङ/पुर्खाहरुले समाज सुधारका लागि ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गरेको ऐतिहासिक दिनको सम्झना गर्दै, किरात धर्मावलम्बीहरुले ९३ औं समाज सुधार दिवस विविध कार्यक्रम आयोजना गरी विभिन्न ठाउँमा भव्य रुपमा मनाएका छन् ।

 

 

लब्रेमा यसरी मनाइयो

 

सत्य धर्म मुचुल्का निर्माण गरिएको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल, किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको कर्म भूमि पान्थरको लब्रेकुटीमा बुधबार ९५ औं समाज सुधार दिवस मनाइएको छ ।

 

 

 

किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटी र किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति पान्थरको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा किरात धर्म दर्शन मुन्धुम सत्य, अहिंसा र शान्तिको दर्शन विषयमा सङ्कथन गरिएको थियो ।

 

 

सङ्कथनमा किरात धर्म दर्शनमा मेटाफिजिक्समा प्राज्ञ हरि चन्द्र लाओती, सत्य धर्म मुचुल्का र अबको मुचुल्कामा प्राज्ञ दिलेन्द्र कुरुम्बाङ, सत्य धर्म मुचुल्का र समाज सुधारमा आङबुहाङ अबोध अबिरल र किरात धर्म दर्शन र महागुरु फाल्गुनन्दका सिवाखाहुनमा रमेश तुम्बापोले कार्यपत्र प्रस्तुत गरेको थियो । यस्तै कार्यपत्र माथि टिप्पणी प्राज्ञ मधुराज केरुङ, स्वतन्त्र सम्पादक माङमिङसोहाङ लिङ्देनले गरेका थिए ।

 

 

फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न समाज सुधार दिवसमा गुरु निजी प्रवक्ता डिल्लीराम चाम्लिङलाई सम्मान गरिएको थियो । सो कार्यक्रम संघका जिल्ला अध्यक्ष ध्रुब तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो । भने, कार्यक्रम सञ्चालन संघ जिल्ला सचिव सुवास तुम्बापोले गरेको थियो ।

 

 

बेलडाँगीमा पनि समाज सुधार दिवसको सम्झना

 


झापाको बेलडाँगीमा पनि ९५ औं समाज सुधार दिवस भव्य रुपमा मनाइएको छ । महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान किरात माङपोक्लुङ माङहिमको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका उप मेयर रेजिना भट्टराई र विशेष अतिथि गुरु निजी आश्रम अर्थ समितिका अध्यक्ष तारावीर नेम्बाङ रहनु भएको थियो ।

 

 

किरात इङभो पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनका अनुसार सो कार्यक्रम आयोजक समितिका अध्यक्ष विनय देवानको अध्यक्षतामा सम्पन्न भएको थियो । भने, चिरञ्जीवी खालिङले कार्यक्रम सञ्चालन गरेको थियो ।

 

 

यसरीनै किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित किरात युमा माङहिमको प्राङ्गणमा पनि समाज सुधार दिवस मनाइएको छ । सो कार्यक्रममा किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको सालिक स्थापनार्थ शिलान्यास समेत गरी भब्यताका साथ समाज सुधार दिवस मनाइएको हो ।

 

ललितपुरको लुभुमा समाजसुधार दिवस मनाइयो

 

ललितपुर स्थित किरात माङ्सेसे हाङ्साम माङहिम लुभुमा त्रिदिवसीय कार्यक्रमको आयोजना गरी ९५ औं समाज सुधार दिवस मनाइएको छ । गत बैशाख २३ गते गोदाबारी खोलामा साक्मुरा वादेम्मा, बैशाख २४ गते येत नाम्धुङ लाधुङ् सेमी सेवा भव्य रुपमा सम्पन्न गरी बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

 

 

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो र किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुन्धुमबिद ज्योतिषविद डा. चन्द्रकुमार सेर्मा, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दंगधोज खोयाहाङ, संघका केन्द्रीय सदस्य सूर्यविक्रम चेम्जोङ, नेपाली सेनाका कर्नेल रमा सुब्बा, नेपाल शशस्त्र प्रहरी बलका डिआईजी देबेन्द्र खिम्दिङ, किरात माङ्सेसे हाङ्साम माङ्हिम जग्गा पुनः प्राप्ती अभियान समितिका आर्थिक संयोजक ज्ञानेन्द्र कुरुम्बाङ, गुरु निजी आश्रम अर्थ समितिका उपाध्यक्ष डिगेन्द्र सेर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियो ।

 

किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिका अध्यक्ष जीवन कुमार सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोका सचिव साथै सन्चारकर्मी राजेन्द्र केरुङले गर्नुभएको थियो ।

 

 

 

महागुरु फाल्गुनन्दको पहलमा ९५ वर्ष पहिले निर्माण गरिएको सत्य धर्म मुचुल्काको महत्व र यसको परिभाषालाई सांघुरो घेराबाट मात्र हेर्न नमिल्ले र यसको व्यवहारिक र दूरदर्शिताको विषयमा खोज अनुसन्धान गर्दै, बहस पैरवी गर्न जरुरी रहेको कार्यक्रममा शुभकामना दिने बक्ताहरुले बताएका छन् ।

 

 

 

 

 

सत्य धर्म मुचुल्का महागुरु फाल्गुनन्दको पहलमा लब्रे पान्थरमा वि.सं. १९८८ बैसाक २४ देखि २८ गतेसम्म आयोजित एक भव्य चुम्लुङले निर्माण गरेको थियो । किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा ७ बुद्धे सत्यधर्म मुचुल्का निर्माण गरिएको थियो ।

 

 

 

यसरीनै ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुमको विभिन्न माङहिमहरुमा विविध कार्यक्रम आयोजना गरी समाज सुधार दिवस मनाएको छ । त्यसैगरी नेपालमा मात्र नभएर भारतको विभिन्न राज्य, अमेरिका, युके, हङकङ, बर्मा, भूटान, अष्ट्रेलिया लगायत विभिन्न मूलकमा पनि समाज सुधार दिवस मनाइएको छ ।

 

 

 

 

किरात धर्मावलम्बी बसोबास भएको संसारको जुनसुकै ठाउँमा पनि समाज सुधार दिवस मनाउने चलन छ । विभिन्न माङहिमहरुमा नाम्धुङ लाधुङ सेमी सेवा गरी कुनै ठाउँमा मनाउने गरिन्छ भने कुनै ठाउँमा सभा सम्मेलन आयोजना गरी शुभकामना आदानप्रदान गरी समाज सुधार दिवस मनाउने चलन छ ।