हामीले आफ्नो गन्तव्य नजानेर हामी आफैं हराएको हो : अङसीमाङ आत्मानन्द सेइङ

 

माङसेबुङ/हामीले आफ्नो गन्तव्य नजानेर हामी आफैं हराएको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । ‘हामी एकता बन्यौं भने माङ शक्ति हाङ शक्ति सबै त्यहीँ छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘विचार सुतेकालाई बिउँझाउन हामी सबै लाग्नुपर्ने समय आएको छ ।’

 

 

 

 

 

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

 

 

 

‘पृथ्वी हामीले बनाएको होइन, यो पृथ्वी आदिमकालदेखि इश्वरको वरदान हो ।’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘विश्व ब्रमाण्ड माङको फूलबारी हो, यो ब्रमाण्ड अथाह छ ।’

 

 

 

‘धर्म कर्म बिना खान पाइन्दैन । धर्म थियो भने पुस्तौपुस्ता खान लाउन पुग्छ ।’ अङसीमाङले अगाडि भन्नुभयो ‘हामी ज्ञानको बोटको भेदमा छौं तर ज्ञान भेटेका छैनौं ।’
आशीर्वचनको क्रममा अङसीमाङज्यूकोले कसैले पनि अहंकार, क्रोध र घमण्ड नगर्न र कूलतमा कसै नफस्न आग्रह गर्नु हुँदै अङसीमाङले सुनाउनुभयो, ‘तपाईहरुको जीवनलाई पवित्र राख्नुहोस् ।’

 

 

 

जन्मोत्सव महासमारोहका अध्यक्ष योङहाङका अनुसार साक्मुरा वादेम्मा, येत् नाम्धुङ लाधुङ सेमी सेवा र पवित्रहाङमा गोल्डकप भव्य रुपमा सम्पन्न भइसकेको छ । नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता विजेता उप विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएको छ ।

 

 

 

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन १ गते साक्मुरा वादेम्मा सेवा र आज २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको छ ।

 

 

 

 

महासमारोहको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सांसद तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू, किरात प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्राज्ञ हरिचन्द्र लाओती, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, भूटान प्रतिनिधि बुद्ध योङया लगायतले शुभकामना मन्तव्य राखेका थिए । विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा समेत सम्पन्न भएको छ । नुमाङगेन्ना सेवामा ६९ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन गरिएको थियो ।

 

 

 

 

समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत सम्पन्न गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेको थियो। नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि महासमारोहले व्यवस्थापन गरिएको छ ।

 

 

 

जन्मोत्सव कार्यक्रम अन्तर्गत आज (फागुन ४ गते) मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन प्रदान हुने कायृक्रम रहेको छ । यसरीनै मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ ।

 

 

 

 

 

कार्यक्रममा पवित्रहाङमा साहित्य पुरस्कार २०८१ द्वारा लेखक तथा साहित्यकार भीमा खजुम मुसुमलाई सम्मान गरिने कार्यक्रम समेत रहेको जनाइएको छ ।

 

 

 

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमारोह उपाध्यक्ष कमला तुम्बापोले स्वागत तथा औचित्य मन्तव्य राखेको थियो । भने, महा समारोहका सह सचिव समिता थेबेले कार्यक्रम सञ्चालन गरेकी थिइन ।