माङसेबुङ/पवित्रहाङमा गोल्ड कप १५ औं संस्करणको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज (मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कन्काई झापा उपाधि नजिक पुगेको हो ।
कन्काईको जितमा खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी सुप्रिया मियाले ३३ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् । यसैगरी भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लव इलाम र रोयल स्पोर्टिङ क्लब दमक झापाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ वजे सुरु हुनेछ ।
महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति कप आयोजना गरिएको यो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरुको सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका, झापा, दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागिता रहेको छ ।
कन्काई नगरपालिका झापाका खेलाडीहरु
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँतेरतेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
ताप्लेजुङ फुटबल संघ ताप्लेजुङका खेलाडीहरु
आत्मा पवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।