माङसेबुङ/माङसेबुङमा जारी १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा रोयल स्पोर्टिङ क्लब दमक झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज (सोमबार) भएको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै दमक झापा सेमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
दमकलाई जित दिलाउन विपासा धिमाल, मनिषा चौधरी र अम्बिका लावतीले समान एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको दमक झापाले खेलको ३५ औं मिनेटमा विपासाको गोलमा सुरुवाती अग्रता लिए । उनले फ्रिकिकबाट गोल गरेकी हुन् ।
त्यसपछि भने थप दवावमा परेको पाहुना टोली दार्जिलिङले ३७ औं मिनेटमा फ्रिकिक्बाट अर्को गोल खान पुग्यो । यो पटक भने मनिषाले गोल गरिन । त्यस्तै खेलको ४२औं मिनेटमा कप्तान अम्बिकाले गोल गर्दै दमकलाई ३–० को सहज जित दिलाइन । खेलको प्लेयर अफ द म्याच दमककी विपासा धिमाल घोषित भईन् । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चालन भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तर्गत भोलि मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा कनकाई नगरपालिका झापा र ताप्लेजुङ फुटबल संघ ताप्लेजुङवीच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
हिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति कप आयोजना गरिएको यो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरुको सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका, झापा, दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागीता रहेको छ ।
रोयल स्पोर्टिङ क्लब दमक झापाका खेलाडीहरु
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँतेरतेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतका खेलाडीहरु
आत्मा पवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।