माङसेबुङ माङले रोजेको ठाउँ हो : अङसीमाङ आत्मानन्द सेइङ

 

माङसेबुङ/पवित्रभूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले विकास गर्दै लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

 

 

 

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगमस्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

 

 

 

‘माघे संक्रान्ति (कक्फेक्वा तङनाम) प्राकृतिक चाड हो’ अङसीमाङज्यूले भन्नु भयो, ‘यो चाड किरातीहरुले पुर्खौ देखि मनाउदै आएको प्राकृतिक चाड हो । वहाँले थप्नुभयो, ‘पुर्खाहरुले सदियौं कालदेखि मान्दै आएको चाडलाई हामीले पनि निरन्तर मान्दै आएका हौं ।’

 

 

‘माङसेबुङ गाउँपालिका संसारले हेर्ने पवित्र स्थल बन्छ’ अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘माङसेबुङ गाउँपालिकाको लागि मैले यहाँको बाटो बलियो बनाउने सोचेको छु ।’ वहाँले थप्नुभयो, ‘एउटा बाटो देउमाई कातिके हुदैं गजुरमुखी धाम जोड्ने र अगौटे जोड्ने । यति जोड्न सकियो भने माङसेबुङ गाउँपालिका विकासको लागि नयाँ नमूनाको रुपमा आउँछ । र माङसेबुङ बासीहरु धनी हुन्छन्, ज्ञान, बुद्धि बिवेक सबैको मालिक बन्छ ।’

 

 

 

‘माङसेबुङ माङले रोजेको ठाउँ हो’ अङसीमाङले माङसेबुङ गाउँपालिका जनप्रतिनिधिहरुलाई भन्नुभयो, ‘नाम नै पवित्र भएको माङसेबुङ गाउँपालिकालाई पवित्र बनाउनु । यसलाई इलामकै नमुना गाउँपालिका बनाउनु पर्छ ।’

 

 

 

 

‘हामी साँस्कृतिक रुपमा धनी छौं’ अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘संस्कृतिको जगेर्णा गर्दै लैजाने हो भने, हामी सभ्य बन्छौं । हाम्रो समाज सभ्य बन्छ ।’ वहाँले आशीर्वचनमा महागुरुको विश्व शान्ति तथा मानव एकतालाई शिरोधार्य गरेर राज्यले विकास गर्ने हो भने यो मुलुक सुन्दर फुलबारी वन्ने समेत बताउनु भयो ।

 

 

 

 

अहंकार, क्रोध, र घमण्ड नगर्नु, उच्च विचार राखेर कर्म संस्कारहरु सुधार्दै जानुपर्ने बताउनुहुँदै वहाँले भन्नुभयो, ‘खानपीनमा शुद्ध हुनुपर्छ, धर्म गर्नु पर्छ, कर्म गर्नु पर्छ र हामीले कृति रहने कर्म गर्नुपर्छ ।’ वहाँले थप्नुभयो, ‘एउटा कृति रहने काम गर्ने र समाजलाई असल ज्ञानको बाटो देखाउने लक्ष छ ।’

 

 

 

‘मैले सिद्धि प्राप्त गरेको पवित्र ठाउँ यहीँ हो ।’ वहाँले आशीर्वचनमा थप्नुभयो, ‘यो पवित्रस्थल महान ठाउँमा पवित्र मनले माग्यो भने, सबै चिज माङले पुर्याउछ ।’

 

 

सेवाको अवसरमा सोमबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूहरुको समुपस्थितीमा माई, देउमाई र मेक्वा खोलाको संगमस्थल ज्ञानभूमि फुलुङगीमा बृहत साक्मुरा वादेम्मा सम्पन्न गरिएको सेवा समारोह सचिव मेनेन्द्र सेर्माले जनाएको छ । समारोहका कोषाध्यक्ष मधु चोङबाङका अनुसार यस वर्ष सेवामा आयोजक बन्नेहरुलाई जपमाला वितरण गरिएको थियो ।

 

 

त्यसैगरी मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङज्यूको माङ सवारमा मंगलबार विश्व शान्ति मानव एकता चराचर सृष्टि रक्षार्थ येत् नाम्धुङ लाधुङ सेमी सेवा भव्यताका साथ सम्पन्न गरिएको थियो ।

 

 

 

कार्यक्रममा प्रमुख अतिथि माङसेवुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेवुङ गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष लक्षमण खम्बु जनम लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । भने, कार्यक्रममा माङसेवुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, माङसेवुङ गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष नरेन्द्रकुमार राई, माइ नगरपालिका वडा नं. १ का वडाअध्यक्ष राम राई, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ लगायत धार्मिक सामाजिक संघ संस्थाका अतिथिहरुको उपस्थित रहेको थियो ।

 

 

 

माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहको समारोहका अध्यक्ष जगत लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उदयविक्रम तुम्बापोले स्वागत मन्तव्य राखेको थियो भने सन्देश लिङदेनले कार्यक्रम सञ्चालन गरका थिए ।