माङसेबुङ/इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन तिजोक पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै टिमले एक एक गोलको बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पाँचथर भाग्यमानी सावित भयो ।
टाईब्रेकरमा तिजोक पाँचथरको जितमा रोशन आङदेम्बे, बिनोद धमला, मिराक खजुम, जमिन लक्सम र निरज लिङदेले गोल गरे । बेगम गुरुङको प्रहार भने दार्जिलिङका गोलरक्षक सचिन सुब्बाले बचाएका थिए । यस्तै दार्जिलिङका सरद मुन्डा, रोमन भुजेल, समिर प्रधान र देवासिङ रोयले गोल गरे । श्याम मुर्मु र मौसम सुब्बाको प्रहार तिजोक पाँचथरका गोलरक्षक मिराक खजुमले बचाएका थिए ।
खेलको मेन अफ दी म्याच तिजोक पाँचथरका गोलरक्षक मिराक खजुम घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।
यसअघि पहिलो हाफ बराबरी खेलेका दुवैटोली दास्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेका थिए । खेलको ५७ औं मिनेटमा सुजन लिम्बूले गोल गर्दै पाहुना टोली दार्जिलिङलाई अग्रता दिलाएका थिए । तर, त्यसको दूई मिनेटपछि ५९ औ मिनेटमा रितिक आङदेम्बेले गोल गर्दै पाँचथरलाई बराबरीमा फर्काए ।
त्यसपछि भने दुवै टोलीले थुप्रै गोल गर्ने अवसरहरु पाए पनि गोल गर्न नसक्दा नतिजा टाईब्रेकरमा पुगेको थियो । यो सँगै सेमिफाईनल समिकरण पूरा भएको छ ।
सेमिफाईनल समिकरण पुरा भएसँगै भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । भोलि बिहिबार हुने पहिलो सेमिफाइनल खेल सिरीजङगा स्पोर्टिङ क्लब मोरङ र दुधे युथ क्लब झापाबीच हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मा पवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।