विश्वव्यापी यसरी मनाइयो : राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको जन्मजयन्ती


इलाम/किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती समारोह विश्वको विभिन्न ठाउँमा भव्यताका साथ मनाइएको छ ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा आइतबार इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको प्रतिमा अनावरण तथा नवनिर्मित किरात फाआप मिङसो माङहिम उद्धघाटन गरिएको थियो ।

 

 

मूल समारोहका अध्यक्ष धनप्रसाद सावादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रहनुभएको थियो ।

 

 

यसरीनै आइतबारनै पान्थरको याङवरक गाउँपालिका ३, सुमचोत्लुङ चरी भञ्ज्याङ बजारमा पनि किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाइएको छ ।

 

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा आयोजित कार्यक्रममा किरात हाङसाम सुमचोत्लुङ माङहिममा सेवा तथा किरात योङया माङगेन्ना चोत्लुङ शिलान्यास गरिएको थियो । आयोजक समितिका अध्यक्ष मोविन्द्र योङयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई रहनुभएको थियो ।

 

 

यसरी इलाम र पान्थरमा आयोजना गरिएको कार्यक्रममा मात्र नभई इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइएको छ । भने, माङसेबुङ ३, भञ्ज्याङमा अवस्थित महागुरुको प्रतिमा पनि अङसीमाङ तथा अङसीमामाङज्यूले अवलोकन गर्नुभएको थियो । भने, कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई रहनुभएको थियो ।

 

 

किरात माङ्सेसे हाङ्साम माङ्हिम, किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समिति र किरात साम्यो माङसेवासाबा नेवाला पान्जुम्भोको संयुक्त आयोजनामा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शङ्खादेवी स्थित किरात माङ्सेसे हाङ्साम माङ्हिममा पनि महागुरुको जन्मजयन्ती मनाइएको छ ।

 

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले किरात धर्मावलम्बीका गुरु महागुरु फाल्गुनन्द अगुवा समाज सुधारक रहेको बताएका छन् ।

 

 

 

इलामको फाक्फोकथुम गाउँपालिका ३ आमचोकमा अवस्थित श्री सिद्ध किरात हाङसाम माङहिममा पनि शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी जन्मजयन्ती कार्यक्रम मनाइएको आयोजक समितिका सचिव आइन्द्र थेगिमले बताएका छन् ।

 

 

 

सचिव थेगिमका अनुसार फाक्फोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका पूर्व अध्यक्ष डिबी लिङदम रहनुभएको थियो । सो कार्यक्रम माङहिम अध्यक्ष नगेन्द्र थेगिमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति ताप्लेजुङको आयोजनामा महागुरु जन्मजयन्ती मनाइएको छ । विभिन्न जातीय झाँकी सहित नगर परिक्रमा पश्चात फुङलिङ नगरपालिका वडा नम्बर ६ काउले स्थित किरात हाङसाङ माङहिममा जन्मजयन्ती कार्यक्रम गरिएको थियो । कार्यक्रममा च्याबु्रङ नाच, धान नाच, बिजुवा नाच लगायतका नाचहरु समेत प्रस्तुत गरिएको थियो ।

 

 


किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङको अध्यक्ष कर्ण पालुङवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का प्रदेश सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा रहनुभएको थियो ।

 

 

 

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० औं जन्मजयन्ती युकेमा पनि भव्य मनाइएको छ ।

विगतका वर्षझैं येत नाम्धुङ लाधुङ सेमी सेवासँगै शुभकामना आदानप्रदान गरी महागुरु जन्मजयन्ती भव्यताका साथ युकेमा पनि मनाइएको संघका राष्ट्रिय समिति अध्यक्ष राजेन्द्र खिम्दिङले बताएका छन् ।

 

 

 

किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाको संयोजनमा किरात धर्मावलम्बीहरु बसोबास रहेको संयुक्त अमेरिकाको विभिन्न प्रान्तहरुमा भव्य रुपमा किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती मनाइएका छन् ।

 

 

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाइएको छ भने, किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती यस वर्ष मनाएका छन् ।

 

 

 

 

यसरी किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँका माङहिमहरुमा र घरघरमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइएको छ ।

 

 

 

 

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाएको जनाइएको छ ।

 

 

 

पछिल्लो समयमा नेपालमा मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ ।

किरात धर्मावलम्बीहरु बसोवास रहेको विश्वको विभिन्न मुलुकका प्रत्येक माङहिमहरुमा नाम्धुङ लाधुङ सेमी सेवा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रमलाई भव्य र सभ्य ढंगले मनाएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

 

यसरी केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएकोमा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका मनाइएको किरात धर्मावलम्बीहरुको भनाई छ ।