सत्य कुरा चिनेर सत्यको बाटोमा लाग्नुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ

इलाम/सत्य कुरा चिनेर सत्यको बाटोमा लाग्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

 

 

 

 

आइतबार इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती, महागुरु प्रतिमा अनावरण तथा नवनिर्मित किरात फाआप मिङसो माङहिमको उद्धघाटन आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

 

 

 

 

‘तपाईहरुले सत्य र सही कुरा खोज्नु होस्’ अङसीमाङज्यूले भन्नु भयो, ‘सही कुरा खोज्नुभयो भने पाउँनु हुन्छ । मैले दिइराखेको छु ।’ वहाँले थप्नुभयो, ‘सबैमा एकता रहौं सबैमा सद्भाव राखौं ।’
‘हामीले नवनिर्मित माङहिममा माङलाई लीन गरेका छौं ।’ वहाँले आशीर्वचनमा भन्नुभयो, ‘हामीले स्थापना गरेको माङले हामीलाई रक्षा गर्छ ।’

 

 

देश विदेशमा ठुला ठुला महामारी नआवस, आपत्तकालिन अवस्था नहोस भनेर माङसँग प्रार्थना गरिरहेको सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विश्व शान्ति होस्, माङले रक्षा गरोस, जहाँ बसेपनि माङको कृपाले बसेका छौं ।’

 

 

मूल समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने बताएका छन् ।

 

 

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कोइरालाले राज्यव्यवस्थाको सयकडौँ वर्षको ढाँचा फेरिए पनि कैयन सामाजिक मान्यतामा परिवर्तन नआएको भन्दै यसभित्र रहेका प्रशस्त अन्तरविरोधहरुलाई आफूले स्वीकार गर्ने बताएका छन् ।

 

 

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती समारोह मूल आयोजक समितिका अध्यक्ष धनप्रसाद सावादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वगत मन्तव्य किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम र सञ्चालन समारोह सचिव विविहाङ सावादेनले गरेका थिए ।