राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको जन्मजयन्ती संसारभर मनाइँदै

माङसेबुङ/किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम भव्यताका साथ संसारभर मनाइँदै छ ।

 

 

 

महागुरु फाल्गुनन्द लिङ्देन जन्मजयन्तीको अवसरमा भोली कार्तिक २५ गते आइतवार इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा आयोजित महागुरु फाल्गुनन्दको जन्मजयन्तीको केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा कार्यक्रम हुने भएको छ ।

 

 

 

मुहिङगुम अङसीमाङ तथा अङसीमामाङज्यूहरुको विशेष समुपस्थिति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती मूल समारोह कार्यक्रम हुने आयोजक समितिका सचिव विविहाङ सावादेनले बताएका छन् ।

 

 

 

 

आयोजक समितिका सचिव सावादेनका अनुसार जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष इलामको माबुमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । समारोह समुद्घाटनसँगै अङसीमाङ तथा अङसीमामाङहरुको हस्तवाहुलीबाट नव निर्मित किरात फाआप मिङ्सो माङहिम माङहिम उद्घाटन एवं महागुरु फाल्गुनन्दको पुर्ण कदको सालिक अनावरण कार्यक्रम हुने मूल समारोह समितिले जनाएको छ ।

 

 

 

 

जन्मजयन्तीको अवसरमा आयोजना गरिएको केन्द्रीय कार्यक्रमको आयोजना व्यवस्थापनको लागि मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती समारोह मूल आयोजक समिति धनप्रसाद सावादेनको अध्यक्षतामा समिति गठन गरिएको छ ।

 

 

 

 

यसरीनै सोही दिन पान्थरको याङवरक गाउँपालिका वडा नं. ३, चरी भञ्ज्याङमा अङसीमाङ तथा अङसीमामाङज्यूको विशेष समुपस्थितिमा वहाँहरुले माङहिम अवलोकन गर्नुहुने कार्यक्रम रहेको माङ सवार संयोजक किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

 

 

 

इलाममा आयोजना गरिएको केन्द्रीय कार्यक्रममा मात्र नभई इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापोले जनाएको छ ।

 

 

किरात धर्मावलम्बीहरु बसोवास रहेको विश्वको विभिन्न मुलुकका प्रत्येक माङहिमहरुमा नाम्धुङ लाधुङ सेमी सेवा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रमलाई भव्य र सभ्य ढंगले मनाउन किरात धार्मिक संस्थाहरुले सबैलाई अपिल गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

 

 

 

 

यसरी केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएकोमा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ ?

 

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने गरिएको छ । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् ।

 

 

 

 

यसरी किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँका माङहिमहरुमा र घरघरमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको छ ।

 

 

 

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ ।

 

 

 

पछिल्लो समयमा नेपालमा मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ ।

 

 

 

 

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा विगतका वर्षझैं यस वर्ष पनि मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाउन लागेको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्र खिम्दिङले बताएका छन् ।

 

 

 

राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनलाई स्मरण गर्दै प्रत्येक वर्ष कार्तिक २५ गतेका दिन स्वदेश विदेशमा भब्य रुपमा जन्मजयन्ती मनाउने क्रममा युकेमा जन्मजयन्ती कार्यक्रम आयोजना गरिएको हो । बेलायतमा बसोबास गर्ने किरात धर्मालबम्वी लगायत अन्य शुभचिन्तक महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिने आयोजक समितिले जनाएको छ ।

 

 

 

महागुरु फाल्गुनन्दको संक्षिप्त चिनारी

 

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मिएको १३९ वर्ष पूरा भई आगामी कार्तिक २५ गतेबाट १४० वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा महागुरु फाल्गुनन्दको १४० औं जन्मजयन्ती आगामी कार्तिक २५ गते विविध कार्यक्रम आयोजना गरी संसारभर मनाईदैछ ।

 

 

 

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।

 

 

 

महागुरु फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

 

 

 

 

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाता, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले फाल्गुनन्दलाई राष्ट्रिय विभूतीको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ । तत्कालीन समयमा लोपोन्मुख अबस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा र्डोयाउन अहोरात्र लाग्नु भएको थियो ।

 

 

 

नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा नं. ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।

 

 

 

हाङ्यकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।