युके/नेपाली एम्बासी र तमुधीको संयुक्त आयोजनामा सञ्चालन भएको नेपाली मेलामा किरात धर्मावलवम्बीहरुले आफ्ना मौलिक भेषभुषा सहित माङलाङ केलाङ प्रस्तुत गरेका छन ।
२५ अगस्ट २०२४ आइतबारका दिन नेपाल एम्वासी र तमुधीको संयुक्त आयोजनामा बेलायतको केम्पटोन रेसकोर्समा सञ्चालन भएको सो नेपाली मेला बेलायतमा हुने सबै भन्दा ठूलो एक दिने नेपाली मेला हो । मेलालाई लक्षित गरी यस किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके र भातृ संगठन किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो युकेको संयुक्त उपस्थितिमा भब्य रुपमा मौलिक किरात भेषभुषा सहित माङलाङ, केलाङ झाँकी प्रदर्शन गरिएको किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो युकेका अध्यक्ष सिक्कुम ज्ञानु फुरुम्बो चरपेले जनाएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सह सचिव समेत रहेका साक्थिम्गेन्न पान्जुम्भो युकेका अध्यक्ष फुरुम्बोका अनुसार युके भरि बसोबास गर्दै आएका किरात धर्मावलम्बी तथा शुभेच्छुकहरुको बाक्लो उपस्थितिमा तागाबा, मेक्लि, साम्याङफुङ, नेसेफुङमा सजिएर च्याब्रुङ, झम्टा, धार्मिक झण्डा, ब्यानर सहित झाँकी प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रमलाई सफल पार्न किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके, किरात साम्यो साक्थिम्गेन्न पान्जुभो युके, किरात साम्यो नालिफुङवा पान्जुभो युके र किरात साम्यो माङसेवासाबा किरात माङहिम समिति युकेहरुको संयुक्त पहल र संयोजनमा समस्त किरात धर्मावलम्बीहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।
बिगत लामो समयदेखि युकेमा आयोजना हुने विभिन्न कार्यक्रमहरु सिसेक्पा तङनाम, चासोक तङनाम, महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती, बार्षिक चोमेन सेवा जस्ता महत्वपूर्ण कार्यक्रमहरुमा मौलिकता सहित सहभागी जनाउदै आएको छ ।
प्रत्येक बर्ष नेपाली एम्बासी र तमुधीले संयुक्त रुपमा आयोजना गरेको सो नेपाली मेलामा दश हजार भन्दा माथि नेपाली मेलाप्रेमीहरुको उपस्थित भएको थियो । नेपाली मेलामा बिबिध जात जाति संघ, संस्था र धार्मिक समुदायहरुले आफ्ना आफ्नै मौलिक भेषभूषा सहित उपस्थित भएर झाँकी प्रदर्शन गर्दै आएका छन ।