माङसेबुङ/पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम सेमी फाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा बुधबार सम्पन्न उद्घाटन खेलमा मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ सेमी फाइनल प्रवेश गरेको हो । माङसेबुङको जितका लागि खेलाडी जर्सि नं. ९ की सावना राईको गोल निर्णायक बनेको थियो ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङज्यू नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको उद्घाटन गरिएको हो ।
विहिबार (भोलि) कन्काई नगरपालिका झापा र वि.वाई. सी. भूटानबीच हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ ।
प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, सप्तरी, मोरङसँगै भुटान र भारतको महिला टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।
फाइनल खेल फागुन २ गते हुने प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।
माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।