माङसेबुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले माङसेबुङलाई देशकै उत्कृष्ट शाकाहारी पर्यटकीय क्षेत्र बनाउन सकिने बताएका छन् ।
सोमबार इलामको माङसेबुङ ५, स्थित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहको उद्घाटन गर्दै मन्त्री किरातीले माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र भएकोले यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिने बताएका हुन् ।
‘नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ’ मन्त्री किरातीले भने, ‘नेपाललाई यिनै धार्मिक र सांस्कृतिक विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ ।’
पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनु पर्ने बताएका छन् । ‘आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ ।’ माङसेबुङलाई राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द र गुरु आत्मानन्दको जन्मस्थलको रुपमा धार्मिक पर्यटन प्रवर्द्धन गर्दै धार्मिक पर्यटकिय क्षेत्र बनाउन सकिन्छ ।’
माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्दै मन्त्री किरातीले माङसेबुङ क्षेत्रलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेकोले यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । उनले पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए ।