माङसेबुङ/इलामको माङसेबुङमा आयोजित आत्मानन्द कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आज सुरु भएको छ ।
प्रतियोगितामा घरेलु टोलि माङसेबुङले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा विदेशी टिम बिवाईसीलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ विजयी बनेको हो ।
माङसेबुङले खेलको सुरुआतमा नै पाएको अवसरलाई सदुपयोग गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल बन्यो । खेलको १५ औं मिनेटमा माङसेबुङका ओसन राईले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो । घरेलु दर्शकको समर्थन पाएको माङसेबुङले सुरुवातदेखि नै आक्रामक खेलेको थियो ।
पहिलो हाफमा १ गोलले पछि परेको भुटानले दोस्रो हाफमा लयमा फर्कने कोसिस गरेको थियो । तर उसको प्रयास सफल नभएपछि पहिलो खेलमै हारको स्वाद चाख्दै स्वदेश फर्कन बाध्य बन्यो ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सवको अवसरमा आयोजित आत्मानन्द कपको १६ औं संस्करण मंसिर १७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ प्रमुख अतिथि रहनु भएको थियो ।
खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार तिजोक युवा क्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम।एफ।सी। दार्जिलिङ भारत र बि।वाई।सी। भुटान सहभागी छन् ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मानन्द कपलाई आत्मा पवित्र हक्चात यक्चुमले संयोजन गर्दै आएको छ ।