निजी गुरु आश्रममा सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा सञ्चालन हुँदै


माङसेबुङ/मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा सञ्चालन भइरहेको छ ।

 

सो सेवा निजी गुरु आश्रम माङसेबुङ गाउँपालिका ५, सुभावारी, लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङ्साम माङहिममा सञ्चालन भइरहेको हो ।

 

 

विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सेवा आयोजना गरिएको हो । बर्षेनी आयोजना गरिदै आएको सेवा यस बर्ष मंसिर ५ गते सुरु गरी ११ गते समापन हुने आयोजक समिति निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिले जनाएको छ ।

 

 

 

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको आयोजनामा विश्व शान्ति, मानव एकता, सकल प्राणी लगायत चराचर सृष्टि जगतको रक्षार्थ सावायेहाङ मुवेक्वा आप्लुङ्गेन ताङसेप चोमेन सेवा नु गुरुकूल परिवार माङगेन्ना सेवा हुने जनाइएको छ ।

 

 

त्यसैगरी सोही सेवाको अवसरमा मुहिङगुम अङसीमाङज्यू तथा मुहिङगुम अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट फूलमाला ग्रहण सहित आशीर्वचन कार्यक्रम समेत हुने आयोजक समितिका सचिव निजी गुरु आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापोले बताएका छन् ।

 

 

सप्ताहव्यापी सेवा अन्तर्गत मंसिर ६ गते बुधबार (काईसो पिल्याम चोमेन) गोठ पूजा सम्पन्न गरिएको छ । भने, बिहिबार साक्मुरा वदेम्मा (गालिश्राप वहन्ती) पछि सावायेत् वरक माङ ताम्भुङ तेत्ला पुङकुदाप (देवि देउराली) सेवा हुने भएको छ । ८ गते शुक्रबार सावायेत् नाम्धुङ लाधुङसेमी सेवा र शनिबार विविध सेवा हुने आयोजक समितिले जनाएको छ ।

 

 

यसरीनै मंसिर १० गते आइतबार गुरुकूल परिवारज्यूहरुको माङगेन्ना, जोगीदान तथा मुहिङगुम अङसीमाङज्यू तथा मुहिङगुम अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट दानवीर तथा दानभेटी दाताहरुलाई आशीर्वाद, फूलमाला तथा सम्मान र अमृतमय आशीर्वचन कार्यक्रम पछि विदाई हुने कार्यक्रम रहेको छ ।

 

 

यसरी सप्ताहव्यापी रुपमा भव्य आयोजना गरिएको सेवाको आयोजक संस्थामा गुरु निजी आश्रम कृषि समिति र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समिति रहेको छ ।