माङसेबुङ/विगतका वर्षझै इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा आयोजना गरिएको आत्मानन्द कप २०८० फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
बिहीबार माङसेबुङ स्थित श्री सरस्वती मावि हलमा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरिएको हो ।
खेलकुद कार्यक्रमको आयोजना मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू ७० औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको नुमाङगेन्ना महान सेवा समारोहले गरेको छ भने, खेलको संयोजन आत्मा पवित्र हक्चात यक्चुमले गरेको छ ।
आगामी मंसिर ८ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भूटान गरी ८ टीमको सहभागिता रहेको हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएको छ ।
सार्वजनिक खेल तालिका अनुसार उद्घाटनको दिन माङसेबुङ गाउँपालिका इलाम र बि.वाई.सी. भुटानबीच खेल हुनेछ । ९ गते धनकुटा फुटबल संघ धनकुटा र तिजोक युवा क्लब पाँचथरबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसरीनै १० गते छथर गाउँपालिका तेह्रथुम र सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीचको खेल हुने आयोजकले जनाएको छ । त्यसैगरी ११ गते गोलबजार स्पोर्टिङ क्लब सिराहा र एम.एफ.सी. दार्जिलिङ भारतबीचको खेल हुने तालिका सार्वजजिक गरिएको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा सञ्चालन हुने आत्मानन्द कपको सेमीफाइनल खेल मंसिर १२ र १३ गते हुने भएको छ । भने, खेलको फाइनल मंसिर १७ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने भएको छ । प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।
वि.स.२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यस वर्ष ३ लाख ११ हजार १ सय ७० रुपैयाँ पुगेको हो । प्रतियोगिता सञ्चालनका लागि लाग्ने खर्च किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।