किरात इङसे डटकम त्रैभाषिक रुपमा सञ्चालन


माङसेबुङ/किरात धर्मको सञ्चार संस्था किरात इङभो पान्जुम्भोद्धारा सञ्चालित किरात इङसे डटकम त्रैभाषिक रुपमा सञ्चालन हुने भएको छ ।

 

शुक्रबार किरात इङसे अनलाइनको प्रमुख संरक्षक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा निजी गुरु आश्रममा त्रैभाषिक रुपमा सञ्चालनका लागि तयारी गरिएको वेवसाइडलाई सार्वजनिक गरिएको हो ।

 

 

 

कम्पनी रजिस्ट्रार कार्यालयमा किरात इङसेको सञ्चालक संस्था किरात इङ्भो पान्जुम्भो गत कार्तिक १९ गते दर्ता भएसँगै किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३९ औं जन्मजयन्तीको अवसरमा त्रैभाषिक रुपमा सुरु गरिएको हो ।

 

 

 

गत २०७७ जेठ २२ देखि सञ्चालनमा रहेको अनलाइन सञ्चार माध्यम खस नेपाली भाषामा सञ्चालित थियो । अब त्रैभाषिक बनाइएसँगै किरात लिपि र अंग्रेजी भाषामा पनि सामग्री अपलोड गर्न सकिने भएको छ ।

 

 

किरात इङभो पान्जुम्भोका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सार्वजनिक गरिएको हो । अनलाइन त्रैभाषिक सञ्चालन गरिएसँगै पान्जुम्भोले अनलाइनको नाममा जुम आइडीसमेत सञ्चालन सुरु गरेको छ ।

 

 

त्यसैगरी पान्जुम्भोलाई आवश्यक पर्ने क्यामेरा खरिदका लागि सहयोग गर्नुहुने युकेवासी किरात धर्मावलम्बीहरुलाई पनि पान्जुम्भोले धन्यवाद प्रकट गरेको छ । यसरी सहयोग गर्ने सहयोगीहरुमा राजेन्द्र खिम्दिङ, ज्ञानु फुरुम्बो, निर्मल पतङवा, हर्क आङदेम्बे, केबाहाङ चेम्जोङ, मंगलसिं लिङदेन, प्रिया खिम्दिङ, कला आवजुङ, गोविन्द मादेन, पर्वत राई, थुपुको थेब छइन्द्र साम्सोहाङ, सेनेहाङ शान्ता थाङदेन, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके लगायतको सहयोगमा एउटा क्यामेरा खरिद गरिएको पान्जुम्भोले जनाएको छ ।