राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जीवनी पुस्तक विमोचन

दमक/किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको जीवनी सम्वन्धि किताब विमोचन गरिएको छ ।

 

 

तुम्वापो समाज सेवा संघ नेपाल केन्द्रीय समितिको आयोजनामा पान्थरको फिदिम नगरपालिका ५ लब्रेकुटीमा एक कार्यक्रमका बीच सो किताब विमोचन गरिएको हो ।

 

किताबको विमोचनपछि बोल्दै भाषाविद् लाओतीले महागुरु फाल्गुनन्द लिम्वू समुदायको मात्र गुरु नभएर सबै जाति, धर्मको महागुरु रहेको बताउनु भयो । उहाँको दर्शन अहिले पनि उत्तिकै उपयोगी रहेको भाषाविद् लाओतीको भनाई छ ।

राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन जीवनी सम्वन्धिको किताब लेखकहरु रमेश तुम्वापो र मनकुमार फेजङले करिव तीन दर्शक अघिदेखि स्थलगत खोज अनुसन्धान गरेर प्रकाशन गरेको माङसेबुङ पब्लिकेसन्सका सञ्चालक धनबहादुर थेवेले बताउनु भयो ।

 

 

 


कार्यक्रममा समिक्षक लेखक आङबुहाङ अबोध अविरलले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जीवनी सम्वन्धि प्रकाशित किताब अनमोल कृति भएको बताउनु भयो । अर्का समिक्षक पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक लक्ष्मी ढुङगानाले लिम्वू भन्दा पनि गैर लिम्वू समुदायलाई महागुरुको विषय बुझन उपयोगी किताब नेपाली भाषामा प्रकाशन भएको बताउनु भएको छ ।

 

 

 

किरात प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्राज्ञ हरिचन्द्र लाओतीको प्रमुख अतिथ्य र जिल्ला समन्वय समितिकिा सदस्य लेन्जो यक्पाङदेनको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा किताब समिक्षक पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मधु केरुङ, फिदिम नगर पालिका ५ न. वडा अध्यक्ष भरत तुम्वापो, लेखक रमेश तुम्वापो लगायतले भनाई राख्नु भएको थियो ।

 

तुम्वापो समाज सेवा संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष धनराज तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रमलाई सुवास तुम्बापोले सञ्चालन गरेको थियो ।