आत्मानन्द कप मंसिर दोस्रो साता सञ्चालन हुने

माङसेबुङ/इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८०’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ८ देखि सञ्चालन हुने भएको छ ।

 

 

 

बिहीबार माङसेबुङ स्थित हङग्रायो खाजा घरमा आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

 

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने आयोजक आत्म पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएको छ ।

 

 

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष आङबुहाङले बताएका छन् ।

 

 

 

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

 

 

 

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने भएको छ । प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

 

 

 

आत्मा पवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको नुमाङगेन्ना सेवा समारोह २०८० को संयुक्त संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।

 

 

वि.स.२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यस वर्ष ३ लाख ११ हजार १ सय ७० रुपैयाँ पुगेको हो । प्रतियोगिता सञ्चालनका लागि लाग्ने खर्च किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।