काठमाडौ/साक्मुरा वादेम्मा तथा येत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरि भब्य रुपले उपत्यका ब्यापी बृहत् मुवेक्वा सेवा (उधौली पूजा) सम्पन्न भएको छ।
किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको आयोजनामा बिहिबार पशुपती गुह्येश्वरी किनारमा सो सेवा आयोजना गरिएको किरात इङभो पान्जुम्भोका सदस्य राजेन्द्र केरुङले जनाएको छ ।
बिश्व शान्ति मानव एकता चराचर सृष्टि जगत तथा मानव रक्षार्थ काठमाडौँ उपत्यकामा हरेक वर्ष आयोजना हुँदै आएको सेवालाई यस पटक पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
बिहानै साक्मुरा वादेम्मा गरी सुरु गरिएको सेवालाई साङ्दाङ्गेन वरुमसाबा याम नेयोङ्हाङले वाचन गर्नुभएको थियो । त्यसैगरी येत नाम्धुङ लाधुङ सेमी सेवामा साङ्दाङगेन वारुमसाबाहरु हरि थक्लिहाङ, ज्ञानु इजम, शान्ति सेर्मा, पुर्णहाङ साँबा, शान्ति आङ्बुहाङ, मदन खालिङ, राजा माबोहाङ, प्रेम वनेम, रचना थेबे, अबिरमान साँबा, मान बहादुर तबेबुङ लगायतले साम्जिक मुन्धुम वाचन गर्नुभएको थियो।
लाख बत्ती प्रज्वलन सहित येत नाम्धुङ लाधुङ्सेमी तथा मुवेक्वा सेवा (उधौली सेवा) विगत २०७० देखि निरन्तर आयोजना हुँदै आएको छ।
किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको आयोजनामा सम्पन्न सो सेवामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
सेवामा सहयोग गर्ने सहयोगीदाता, स्वयंमसेवक, माङ्सेवासाबाहरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।