झापा/पहिचानको आन्दोलन सशक्त बनाउनको लागि प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले झापामा पहिचानको लागि युवा गठन गरी घोषणा गरिएको छ ।
शनिबार बिर्तामोडस्थित सिटि सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको भेलाले सामी पालुङवाको संयोजकत्वमा १५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो । यसैगरी सह संयोजक सुमन सम्बाहाम्फे, कर्ण राजवंशी, सदस्य सचीव गौरिमान राई रहेका छन् ।
कार्यक्रममा किरात राई यायोक्खा अध्यक्ष जीवन हताचो, किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष गोविन्द आङबुङ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ, आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जिरेल, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा, नागरिक उन्मुक्ति पार्टी एकीकृत महासचिव दिल कुमार लाओती, जनता समाजवादी पार्टि नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिव केदार धिमाल, पहिचानको लागि युवाका संयोजक भीम राई सहसंयोजक बिराज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियोे ।
कोशी नाम खारेजीको आन्दोलनमा प्रहरी दमन हुँदै आएकाले त्यसको प्रतिकार गर्न र भ्रष्टाचारविरुद्ध अभियान गर्न सो दस्ता निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्षसमेत रहेका सङ्घर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले बताए । जिल्लाको १५ वटा स्थानीय पालिकाहरुबाट कम्तीमा दुई सय जनाको सङ्ख्यामा युवाहरू तयार भइसकेको पनि चौधरीले जानकारी गराए ।
२०७९ फाल्गुन १७ गते तात्त्कालिन एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ८२ जना संसदले हस्ताक्षेर गरी प्रदेश १ लाई कोशी प्रदेश नानाकरण गरे पछि पहिचान पक्षधरहरुले सो नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नु पर्ने भन्दै निरन्तर आन्दोलन गर्दै आइरहेको छन्।
उक्त आन्दोलनको क्रममा चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शन हुदा प्रहरी संगको दोहोरो झडपमा पदम लिम्बु “लाजेहाङ” ले शाहदत प्राप्त गरेका थिए। त्यस्तै, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको अनुसार १५० भन्दा धेरै घाइते भएको जनाएको छ।
पहिचानवादीहरुको हजारौंको उपस्थितिमा र्यालिसहित कोशी प्रदेश नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद जस्ता नाराबाजी गर्दै युवा दस्ताहरुले बिर्तामोड बजार मार्चपास सहित परिक्रमा गर्दै मुक्तिचोक छेउमा कोणसभा गरिएको थियोे ।
कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको हो । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।