युके/किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको समिक्षा बैठक गोर्खा भिल्ला गेष्ट हाउसमा २७ जुलाई २०२३ बुधबार सम्पन्न भएको छ ।
समिक्षामा बैठकमा किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको भावि योजना माथि व्यापक छलफल भएको साक्थिम्गेन पान्जुम्भो युकेका सदस्य ज्ञानु फुरुम्बो चरपेले बताएको छ ।
युकेमा किरात धार्मिक सांस्कृतिक संस्था जन्मेर भर्खरै बामे सर्दै गरेको र धेरै कुराको जोडजाम गर्नु पर्ने साथै यस संस्थाको मुख्य उद्देश्य नै सांस्कृतिक कला क्षेत्रको विकास र विस्तार गर्नु रहेको पान्जुम्भोका सदस्य फुरुम्बोको भनाई छ ।
नव गठित पान्जुम्भोमा धेरै कुराको आवश्यक भएको समिक्षा बैठकमा कुराहरु उठेपछि यस समस्याहरुलाई समाधान गर्न केन्द्रीय समितिमा पहल गर्न उपस्थित सल्लाकारहरुले सल्लाह सुझावहरु राखेका थिए ।
विशेष गरी यो संस्थाले किरातीहरुको मौलिकता र मौलिक सांस्कृतिक खोज गर्ने र आउदो पुस्ताहरुलाई हस्तातरण गर्दै जाने मुख्य लक्ष्य लिएको साथै भाषा, लिपि, संस्कार, संस्कृति, पहिचान र अस्तित्वसँग जोडिएको कुराहरु समेत प्रचारप्रसार र प्रशिक्षण दिँदै जाने पान्जुम्भोका अध्यक्ष निर्मल पतङवाले बताएका छन् ।
पान्जुम्भोका अध्यक्ष पतङवाका अनुसार मौलिक परम्पराको रुपमा नाँच्दै आएका युमालाङ र थेबालाङलाई विकास गर्दै जाने, किरात याक्थुङ पान, भेषभूषा, किरातहरुसँग सम्बन्धित सांस्कृतिक साथै विबिध विषयलाई संरक्षण सम्बद्र्धन गर्ने पान्जुम्भोको मुख्य उद्देश्य रहेको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङको उपस्थितिमा तथा निर्मल पतङवाको अध्यक्षतामा १९ सदस्यीय किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युके समिति ८ जुलाई २०२३ का दिन गठन भएको थियो । सो गठन भएपछि यो पहिलो समितिको समिक्षा बैठक गोर्खा भिल्ला गेष्ट हाउसमा आयोजना गरिएको हो ।
साक्थिम्गेन पान्जुम्भो युके समितिले १५ जुलाईका २०२३ का दिन किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गरेको सिसेक्पा तङनाममा आफ्ना मौलिक भेषभुषा सहित माङलाङ प्रस्तुत गरेको थियो । अब आउदो दिनहरुमा पनि यस्ता प्रस्तुतिहरु जारी रहने कलाकार तथा पान्जुम्भोका सदस्य प्रिया खिम्दिङले बताइन् ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सह कोषाध्यक्ष केबाहाङ चेम्जोङले पान्जुम्भोका कलाकार र समितिहरुलाई हौसला दिँदै भने, ‘नव आउने पुस्तालाई हाम्रो मौलिकता पहिचान, अस्तित्व जस्ता महत्वपूर्ण कुराहरु सिक्न जान चाहने युवायुवतीहरुलाई हामीबाट जस्तो सुकै परिस्थितिमा पनि सहयोग साथ दिन तयार छौं । तर यहाँहरु मन दिएर लाग्नु होला ।’
किरात धर्म तथा साहित्य उत्थान संघ युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आथित्य तथा सह कोषाध्यक्ष केवाहाङ चेम्जोङ, सल्लाकार साम्दागेन्न वरुमसाबा मंगलसिं लिङदेनहरुको विशेष आथित्यमा समिक्षा बैठक सम्पन्न भएको थियो । पान्जुम्भोको अध्यक्ष निर्मल पतङवाले विभिन्न कोणबाट सहयोग गर्नु हुने सल्लाकारहरु, समिति सदस्यहरु, कलाकार साथै अभिभावक शुभचिन्तकहरुलाई धन्यवाद दिँदै समिक्षा बैठक समापन गर्नु भएको थियो ।