ताप्लेजुङ/प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समतिले पहिचानको आन्दोलनलाई थप सशक्त बनाउँने उदेश्यले पहिचानको लागि युवा गठन कार्यक्रमलाई तिब्रता दिएको छ ।
विहिबार फुङलिङस्थित सिटिहलमा कार्यक्रम आयोजना गरी नविन पोमूको संयोजकत्वमा पाँच सय एक सदस्यीय पहिचानका लागि युवा ताप्लेजुङ घोषणा गरिएको हो ।
सामुदायिक भवन (सिटिहल) मा पहिचानका लागि युवा घोषणा सभा आयोजना गरिएको थियो । हलमा घोषणा गरिएपछि वीरेन्द्र चौकहुँदै मार्चपास गरी तोक्मे डाँडास्थित महागुरु फाल्गुनन्द प्रतिमामा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभा कार्यक्रमलाई पहिचान सहित प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवा, जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङ प्रदेश नं. १ का अध्यक्ष मधु केरुङ लगायतले सम्बोधन गरेका थिए ।
प्रदेश नं. १ लाई पहिचानसहित पुनः नामाङकन गर्न गराउनका लागि आन्दोलनलाई व्यवस्थित र सशक्त बनाई रचनात्मक ढंगले आन्दोलन गर्ने उद्देश्यले पहिचानका लागि युवा घोषणा गरेको वक्ताहरुले बताएका छन् ।
पहिचानका लागि युवा केन्द्रीय सह संयोजक विराज लिम्बू र सचिव साहास राईको उपस्थितीमा युवा दस्ता घोषणा गरिएको हो । ताप्लेजुङको ९ वटै स्थानीय तहबाट उपस्थित युवाहरुबाट युवा दस्ता घोषणा गरिएको केन्द्रीय सह संयोजक विराज लिम्बूले बताएका छन् ।
यसरीनै विहिबारनै प्रदेश न. १ पुनः नामाङकन सङ्युक्त संघर्ष समिति ताप्लेजुङको पहलमा आङ्वुहाङ सेवा समाजको वरिष्ठ उपाध्यक्ष उदय आङ्बुहाङ अध्यक्षतामा ताप्लेजुङको मैवाखोला हुँदै धनकुटाको हिलेसम्म पुग्ने बाटो मदन भण्डारी लोकमार्गको बोर्डलाई हटाएर काङ्सोरे बाजाङ आङ्बुहाङ लोकमार्ग लेखिएको बोर्ड स्थापना गरिएको छ ।
सो बोर्डलाई पहिचान सहित प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले उद्घाटन गरेका थिए भने, काङ्सोरे बाजाङ आङ्बुहाङको बारेमा संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आफ्ना धारणा राखेका थिए ।
आदिवासी याक्थुङ लिम्बुहरुको भूमिको आफ्नै पहिचानमा आधारित ऐतिहासिक थातथलोको नामलाई भाषिक अतिक्रमण गरी नश्लिय, गोत्रिय नाम राखेकोलाई सबैलाई क्रमश पुनः पहिचानको आधारमा नामाकरण गरिने संयुक्त संघर्ष समितिले जनाएको छ ।
गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरले पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्छ भन्दै आन्दोलनलाई जारी राखेका छन् ।