इलाम/प्रदेशको नाम ‘कोशी’ खारेज हुनुपर्ने आन्दोलनरत पहिचानवादीले माग गरेका छन् । इलामको देउमाईस्थित मंगलबारे बजारमा सोमबार आयोजित विरोध कार्यक्रममा सहभागि पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेजीको माग गरेका हुन ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति इलाम र संयुक्त संघर्ष समिति देउमाई नगरपालिकाको आयोजनामा सोमबार भएको कोशी प्रदेश विरूद्वमा बृहत विरोध सभामा बोल्दै पहिचानवादी नेता तथा राजनीतिक दलका नेताले प्रदेशको नाम कोशी खारेज गरी पुनः नामाङकन गर्न माग गरेका हुन्।
किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले प्रदेशको नाम कोशी राखेर एकल जातिवादीको संज्ञा भिरेर अन्य समुदायको अस्तित्वमा नामेट पारेकोे आरोप लगाए । उनले एकल नश्लवादी कोशी नाम खारेज गरेर सबैको साझा सहअस्तित्व समेट्ने नाम राख्न माग गरे ।
चुम्लुङका अध्यक्ष येक्तेनले तीन महिनादेखि प्रदेशलाई अशान्त बनाउँने जिम्मेवार प्रदेशसभा सदस्य तथा नेकपा एमालेका सासदीय दलका उपनेता रामबहादुर रानालाई कोशी नाम सच्याउन अनुरोध गर्न वहाँको आँगनमा विरोधको कार्यक्रम गरेको बताउँदै भने९‘प्रदेशलाई शान्त बनाउँने काम तीन दलका नेता तथा प्रदेशलाई नेतृत्व गर्नेको हो । कोशीले पहिचान मागेकै होइन् । जसरी कोशी नामको प्रस्ताव लानुभयो त्यसरी नै कोशी नामको खारेजीको प्रस्ताव लानुहोस भनेर अनुरोध गर्न आएका हौं । जनताको माग अनुसार नामको खारेज गर्ने प्रस्ताव लानुहोस भन्ने हाम्रो माग हो ।’
अध्यक्ष येक्तेनले भने ‘नागरिकको जनभावना विपरित काम गर्नुहुन्छ भने कालो अबिर लाग्छ, यसमा चिन्ता लिन आवश्यक छैन, सार्वजनिक व्यक्तिले जनभावनाको कदर गर्नुपर्छ । जनभावनाको कदर गर्नुहुन्छ, भने रातो अबिर लगाउँछन् । फूलमाला लगाई दिन्छन् ।’
मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले साझा सहअस्तित्वका लागि प्रदेशको नाम कोशी खारेज गर्नु पर्ने बताए । उनले प्रदेशको नाम कोशी नाम एकल नश्लीय जातीय नाम भएको बताए ।
अध्यक्ष लिङदेनले भने ‘इतिहास र सभ्यताले आजको यो समयको निर्माण गरेकोले सबैको साझा अपनत्वको प्रदेश बनाउँनु एकजुट हुनुपर्नेमा जोड दिए । प्रदेशको नाम पहिचानको आधारमा हुँदा बाहुन क्षेत्री बसाई जानु पर्दैन । हामी सबैको साझा किरात लिम्बुवान प्रदेश हुँनेछ ।’
किरात राई यायोक्खाका संघीय उपाध्यक्ष तिलक राईले प्रदेशको नाम कोशी राखेर जनभावनाको मर्मलाई सम्बोधन नगरेको बताए । उनले एकल नश्नवादी चिन्तनलाई त्याग्न कोशी नाम खारेज हुनुपर्नेमा जोड दिए ।
प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेमिगले प्रदेशको नाम कोशी राखेर जनमतलाई दुरूपयोग गरेको बताए । अध्यक्ष थेगिमले मत माग्दा राखेको वचन भूलेर प्रदेश सभा सदस्य रामबहादुर रानाले प्रदेशको नाम कोशी प्रस्तावक भएर धोका दिएको बताउँदै कोशी नाम खारेज हुनुपर्नेमा जोड दिए ।
जनमुक्ति पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले प्रदेशको नाम कोशी राख्नु भनेको संविधानको मर्म र भावना बिपरित भएको बताए । उनले प्रदेशको नाम कोशी खारेज गरेर आत्म निणर्य सहितको सबैलाई पहिचान दिलाउँने नाम राख्नु पर्नेमा जोड दिए ।
नेता पालुङवाले भने – ‘किरात लिम्बुवानको विषयमा सयौं दस्तावेज भएको जानकारी गराउँदै नश्लवादी एकल पहिचानवादी नाम कदापी स्वीकार्य हुँदैन ।’
नेकपा माओवादी केन्द्रका राम राईले प्रदेशको नाम कोशी सरकारले सामराज्यवादी सोचको विकास गरेको बताए । उनले पहिचानको अजेण्डा माओवादीको भएकोेले यसलाई सच्याएर सबैको पहिचान समेट्ने नाम राख्न माग गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका दिलिप कार्कीले नागरिकको जनभावनालाई समेट्दै पहिचानलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति देउमाई नगरपालिका अध्यक्ष पूर्णचन्द्र फियाकको अध्यक्षतामा भएको कार्यक्रममा अधिबक्ता यामप्रसाद लिम्बू, नेपाल आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष अभिषेक येक्तेन, किरात राई यायोक्खा संघीय महासचिव कृष्णकुमार राई, नेपाल थामी समाज संघीय अध्यक्ष सुकवीर थामी, इलामका पुष्पा राई, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका हेमराज लिम्बू, जनता समाजवादी पार्टीका छिकिन तामाङ लगायतले बोलेका थिए ।