माङसेबुङ/पुर्खाहरुले समाज सुधारका लागि ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गरेको ऐतिहासिक दिनको सम्झना गर्दै, किरात धर्मावलम्बीहरुले ९३ औं समाज सुधार दिवस विविध कार्यक्रम आयोजना गरी विभिन्न ठाउँमा भव्य रुपमा मनाएका छन् ।
सत्य धर्म मुचुल्का निर्माण गरिएको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल, किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको कर्म भूमि पान्थरको लब्रेकुटीमा आइतबार ९३ औं समाज सुधार दिवस मनाइएको छ।
किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटी र किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति पान्थरको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
महागुरु फाल्गुनन्दको पहलमा ९२ वर्ष पहिले निर्माण गरिएको सत्य धर्म मुचुल्काको महत्व र यसको परिभाषालाई सांघुरो घेराबाट मात्र हेर्न नमिल्ले र यसको व्यवहारिक र दूरदर्शिताको विषयमा खोज अनुसन्धान गर्दै, बहस पैरवी गर्न जरुरी रहेको कार्यक्रममा शुभकामना दिने बक्ताहरुले बताएका छन् ।
सत्य धर्म मुचुल्का महागुरु फाल्गुनन्दको पहलमा लब्रे पान्थरमा वि.सं. १९८८ बैसाक २४ देखि २८ गतेसम्म आयोजित एक भव्य चुम्लुङले निर्माण गरेको थियो । किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा ७ बुद्धे सत्यधर्म मुचुल्का निर्माण गरिएको थियो ।
यसरीनै मुक्कुमलुङ युमा माङहिम ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुमको विभिन्न माङहिमहरुमा विविध कार्यक्रम आयोजना गरि समाज सुधार दिवस मनाएको छ ।
किरात धर्मावलम्बी बसोबास रहेको विश्वको विभिन्न ठाउँमा भव्य रुपमा समाज सुधार दिवस मनाउने क्रममा किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिको आयोजनामा माङसेसे हाङसाम माङहिम लुभु ललितपुरमा बृहत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।
किरात धर्मावलम्बी बसोबास भएको संसारको जुनसुकै ठाउँमा पनि समाज सुधार दिवस मनाउने चलन छ । विभिन्न माङहिमहरुमा नाम्धुङ लाधुङ सेमी सेवा गरी कुनै ठाउँमा मनाउने गरिन्छ भने कुनै ठाउँमा सभा सम्मेलन आयोजना गरी शुभकामना आदानप्रदान गरी समाज सुधार दिवस मनाउने चलन छ ।