मुख्यमन्त्री र प्रदेश सभामुखलाई संघर्ष समितिले बुझाए स्मरण पत्र, माग पूरा नभए कडा आन्दोलनको चेतावनी


मोरङ/कोशी प्रदेश नाम खारेजीको लागि निरन्तर आन्दोलनरत प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले सोमबार मुख्यमन्त्री र प्रदेश सभाका सभामुखलाई १० गतेसम्मको अल्टिमेटम पत्रको स्मरण गराएका छन् ।

 

संयुक्त संघर्ष समितिले चैत्र २६ गते सभामुख बाबुराम गौतम र मुख्यमन्त्री हिक्मत कार्कीको कार्यालय पुगेर अल्टिमेटम पत्र बुझाएका थिए ।
अल्टिमेटम पत्र बैशाख १० गतेसम्मको लागि भएको सो बेलासम्म माग पूरा नभए कडा आन्दोलन थाल्ने संघर्ष समितिले जनाएको छ ।

 

 

सोमबार (बैशाख ४) किरात राई यायोक्खा विराटनगर महानगर समितिको अध्यक्ष विष्णु राई, किरात याक्थुङ चुम्लुङको महानगर अध्यक्ष कुमार सुब्बा लगायतको टोली मुख्यमन्त्री र सभामुखको कार्यालय पुगेर अल्टिमेटम पत्र दर्ता गराएर पुनः स्मरण गराएका हुन् ।

 

 

आन्दोलनरत पक्ष शान्तिपूर्ण रुपमा कोशी नाम खारेजीको पक्षमा रहेको अल्टिमेटम पत्रमा उल्लेख छ । सरकार पक्ष आन्दोलनकारीलाई गलाउने, थकाउने, आन्दोलनलाई कम आँकेर दबाउने प्रयास भए जीवन मरणको संघर्ष सुरु हुने अल्टिमेटम पत्रमा उल्लेख छ ।

 

अल्टिमेटम पत्रमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङकन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा संघको अध्यक्ष लाक्पा शेर्पाको हस्ताक्षर रहेको छ ।