विराटनगरमा पहिचानवादि प्रदर्शनकारी र प्रहरीबीच झडप, झडपमा दर्जनौं घाइते

विराटनगर /मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको शान्तिपूर्ण प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी वीच झडप भएको छ ।

 

 

 

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सांसदहरू सहभागी हुने भएपछि मंगलबार पहिचानवादीहरु विराटनगरस्थित सो होटल नै घेराउ गरी प्रदर्शन गरेका हुन् ।

 

 

 

यूएनडीपीको आयोजनामा मंगलबार र बुधबार कार्यक्रम हुने तय थियो । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविज्ञ स्वर्णिम वाग्लेले प्रवचन दिने कार्यक्रम थियो । तर, कार्यक्रम सुरु हुनुअगावै पहिचानवादीले प्रदर्शन सुरु गरेका थिए ।

 

 

 

 

होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि प्रदर्शनकारीहरुले नारा जुलुसँ गर्दै प्रहरी घेराउ तोड्न खोजेपछि प्रहरीले १७ राउण्ड हवाई फायर र ४४ सेल भन्दा धेरै अश्रुग्यास प्रहार गरेको वताइएको छ ।

 

 

सो क्रममा आन्दोलनकारी पक्षबाट शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई, एन के दर्नाल, सुरज राई, सरोज लिम्बु, अशोक राई, पदम लिम्बु, विशाल राई, रेशम राई, रोयल राई, विमल किराँती र आस्था राई लगायत गरी १३ जना घाइते भएका छन् । भने प्रहरी तर्फ डिएसपी विजय श्रेष्ठ सहित १५ जना घाइते भएको जनाइएको छ । घाइते आन्दोलनकारीहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार भईरहेको छ ।

 

 

 

 

प्रदेश नं. १ को पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोसी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ ।

 

 

गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा झडप हुँदा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । सहिदलाई राष्ट्रिय सहित घोषणा गरी सरकारलाई उचित क्षतिपूर्तिको माग समेत संघर्ष समितिले गर्दै आएको छ ।

 

 

 

 

यसैगरी मंगलबारनै संयुक्त संघर्ष समितिको कार्यक्रम अनुसार प्रदेश १ का सम्पूर्ण पालिका र वडा कार्यालयहरु पनि ३ दिनका लागि बन्द गरिएको छ । आन्दोलनरत संगठनले शान्तिपूर्ण रुपमा पालिका र वडाहरु मंगलबारदेखि विहिबारसम्म बन्द गर्न आवह्रान गरेको जनाइएको छ ।