कोशी प्रदेश नामको खारेजीका लागि जन प्रदर्शन कार्यक्रमको तयारी पूरा


दमक/कोशी प्रदेश नामको खारेजीका लागि आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले विराटनगरमा आयोजना गरेको विशाल जन प्रदर्शन कार्यक्रमको तयारी पूरा भएको छ ।

 

 

प्रदेशबासीको माग र चाहना विपरित प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी कायम गरेसँगै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले आइतबार प्रदेश राजधानी विराटनगरमा जन प्रदर्शन गर्ने तयारी गरेको हो ।

 

 

 

जन प्रदर्शन कार्यक्रमको तयारी पूरा गरिएको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले जनाएको छ ।

 

 

 

सो संयुक्त संघर्ष समितिको घटक संगठनमा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ रहेका छन् ।

 

त्यसैगरी किरात याक्थुङ चुम्लुङको संयोजनमा रहेको पहिचानवादी मोर्चा लिम्बुवान किरात संयुक्त संघर्ष समितिका सबै घटक संगठनहरु समेत सामेल भएका छन् ।

 

 

चरणवद्ध आन्दोलनको क्रममा आइतबार विराटनगरमा विशाल जनप्रदर्शन गरिने तथा आगामी आन्दोलनका कार्यक्रमहरु समेत चाडैं घोषणा गर्ने तयारी भइरहेको अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।