अभियान समिति पालिकास्तरमा विस्तार हुँदै

दमक/कोशी प्रदेश नामको खारेजीका लागि चरणवद्ध आन्दोलनका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउन विभिन्न ठाउँमा अन्तरक्रियासँगै संगठन विस्तार अभियानलाई अगाडि बढाइएको छ ।

 

 

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले झापाको विभिन्न पालिकाहरुमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाएको छ ।

 

भद्रपुर नगरपालिका अभियान समिति संयोजक रामकुमार बान्तवाको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । भने कचनकवल गाउँपालिका अभियान समिति संयोजक रामबहादुर योङ्हाङ र हल्दीबारी गाउँपालिका अभियान समिति संयोजक पदमबहादुर आङ्खेवाको अध्यक्षतामा ७ सदस्यीय पालिका स्तरीय समिति गठन गरिएको छ ।

 

 

त्यसैगरी शिवसताक्षी नगरपालिका अभियान समिति संयोजक बिनोद ताप्मादेनको अध्यक्षतामा ७ सदस्यीय पालिका अभियान समिति गठन गरिएको पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए।

 

 

अभियान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको सहजीकरण तथा अभियान समिति झापा जिल्ला अध्यक्ष लक्ष्मी योङहाङको संयोजनमा बुधबार झापाको विभिन्न स्थानीय तहहरुमा अभियान समिति विस्तार गरिएको हो ।

 


आदिवासी जनजाति महासंघ नगर अध्यक्ष शमशेर खंवा लिम्बूको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले उर्लाबारी नगरपालिका स्तरीय प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

 

त्यसैगरी पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले हस्तबहादुर तुम्साको नेतृत्वमा उर्लाबारी नगर अभियान समिति गठन पजि गरेको छ ।

 

 

यी दुवै कार्यक्रममा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका उपमहासचिव नन्दकुमार नेम्वाङ, अभियानका अर्थसचिव मनकुमार आङबुहाङ र अभियान केन्द्रीय सदस्य दिलु लिङ्देन लाओतीले सहजीकरण गर्नुभएको थियो ।

 

 

आगामी चैत ५ गते प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा कोशी प्रदेश नाम खारेजीको लागि विराटनगरमा आयोजित विशाल जन प्रदर्शन कार्यक्रमको तयारीका लागि र थप आन्दोलनको कार्यक्रमहरुलाई सशक्त बनाउन संगठन विस्तार अभियान सञ्चालन गरिएको जनाइएको छ ।