प्रदेश व्यापी आम हड्ताल सफलतासँगै थप आन्दोलनका कार्यक्रम सार्वजनिक

दमक/प्रदेश व्यापी आम हडताल कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेसँगै प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

 

कोशी प्रदेश नाम खारेजीको माग गर्दै आइतबार (हिजो फागुन २८ गते) संघर्ष समितिले दबाबमूलक प्रदेशव्यापी आम हड्तालको आयोजना गरेको थियो। सो कार्यक्रममा साथ, सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई समेत धन्यवाद दिँदै संघर्ष समितिले विज्ञप्ति जारी गरेको छ ।

 

 

 

यसरी प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा पुनः नामाङकन गर्न, गराउन आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फागुन २८ देखि चैत ५ गतेसम्मको थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

 

 

 

घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २८ देखि चैत ४ गतेसम्म सामाजिक सन्जाल कोशी नाम खारेज कालो झण्डा अभियानको रुपमा प्रदेश व्यापी कालो झण्डा गाड्ने र स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यक्रमलाई निरन्तरता दिने रहेको छ ।

 

 

 

यसरीनै कोशी नामका बोर्डहरु हटाउने । कोशी नामका लेटरप्याडहरु जलाउने । कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने । वडा तहसम्म संयुक्त संघर्ष समिति विस्तार जारी राख्ने । पर्चा निर्माण र वितरण गर्ने साथै भित्ते लेखन र कोणसभा गर्ने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिको घटक पहिचान सहितको प्रदेश नं. १ पुुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले जनाएको छ ।

 

 

 

अध्यक्ष थेगिमका अनुसार आन्दोलनकै अवधिमा विशाल जनप्रदर्शन तयारीको तयारी समेत गरिने छ । चैत ५ विराटनगरमा विशाल जनप्रदर्शन गर्ने र भावि आन्दोलनको खाका घोषणा गरिने संयुक्त संघर्ष समितिले जनाएको छ।