बढ्दै छ आन्दोलनको प्रभाव, आम हडतालको तयारी व्यापक हुँदै

दमक/कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारममा प्रदेश नं. १ को नाम पुनः नामाङकन गराउन गठित प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको बैठक शनिबार सम्पन्न भएको छ ।

 

 


सुनसरीको इटहरीस्थित किरात राई यायोक्खा प्रदेश समितिको भवनमा आयोजित संयुक्त संघर्ष समितिका घटक संगठनहरुको संयुक्त भेलाले पारित गरेका आन्दोलनका कार्यक्रमहरु प्रेस सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

 

प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको सम्पूर्ण घटक संगठनहरुको तर्फबाट सो विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघ संघीय समितिका अध्यक्ष गेल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ पुुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका सह अध्यक्ष ज्ञानबहादुर राई, नेपाल शेर्पा संघ अध्यक्ष गेल्जे शेर्पाले हस्ताक्षर गरेका छन् ।

 

शासक जातीय एकल पहिचानको साम्प्रदायिक कोशी प्रदेश नामाकरणलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि एंवम साझा पहिचानको आधारमा पुनः प्रदेशको नामाङकन गर्ने, गराउने ऐतिहासिक आवश्कता र जिम्मेवारी पूरा गर्न नेपाल आदिवासी जनजाति महासंघ सहित प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चरण आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको विज्ञप्तिमा जनाएको छ ।

 

 

समितिको विज्ञप्ति अनुसार शनिवार साँझ प्रदेशभर राँके जुलुस प्रदर्शनको कार्यक्रम सम्पन्न भएको छ। आन्दोलन अन्तर्गत आइतबार (भोली) प्रदेश व्यापी आम हडताल हुने जनाइएको छ ।

 

आम हडताल अन्तर्गत एम्बुलेन्स, खानेपानी, बिवाह, मरिमराउको, कुटनैतिक एंवम अन्तर्राष्ट्रिय नियोग, पत्रकार र मानव अधिकारका गाडीहरु बाहेक सम्पूर्ण व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालय लगायत प्रदेशव्यापी बन्द हुने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिका घटक संस्था पहिचान सहितको प्रदेश नं. १ पुुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।आन्दोलनको कार्यक्रम अनुसार आगामी चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गरिने समेत अध्यक्ष थेगिमको भनाई रहेको छ ।

 

 


बैठकमा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष गेल्जे शेर्पा, महासंघका महा सचिव दिवस राई, पहिचान सहितको प्रदेश नं. १ पुुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका सह अध्यक्ष ज्ञानबहादुर राई, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मुक्साम मेन्याङबो, जनता समाजवादी पार्टी नेपाल सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन लगायतका पहिचानवादी राजनीतिक, सामाजिक संघ संस्थाका नेताहरुको उपस्थिती रहेको थियो ।