माङसेबुङ/प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ ।
यो समाचार तयार गर्दाताका सभामुख बाबुराम गौतमले सो प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्को बैठक बस्ने जनाइएको छ ।
कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका थिए।
संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्को बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ । कोशी प्रदेशको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा देखिएकाका छन् ।
सो प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद भएको नेकपा एकीकृत समाजवादी र एक जना मात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी नेपाल रहेका छन् । विपक्षमा पहिचानको आधारमा लिम्बुवान किरात सगरमाथा प्रदेश नामाकरण गरियोस भनि प्रस्ताव पेश गरेका थिए ।प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तीहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
कोशी प्रदेशका विरुद्ध आन्दोलन सुरु
बुधबार प्रदेश सभामा पेश गरिएको कोशी प्रदेशको विरुद्धमा विभिन्न राजनीतिक दल लगायत सामाजिक संघ संस्थाहरुले आन्दोलन सुरु गरेका छन् ।
यसरी आन्दोलनको सुरु गर्ने क्रममा लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश सभा अगाडि विराटनगरमा विरोध कार्यक्रम आयोजना गरेको छ भने, पहिचान सहित प्रदेश नं. १ को नामाकरणका लागि शान्तिपूर्ण नैतिक दबाव समितिले एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशको विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बहु धार्मिक, बहु सांस्कृतिक एंव बहु भाषिक मुलुक हो । सबै जातजाति धर्म संस्कृति र पहिचान बोकेका नेपाली हरूको साझा देश नेपाल हो र पूर्वमा १४ जिल्ला समेटिएको प्रदेश नं १ मा मुख्य रूपमा राई, लिम्बू, मगर, याक्खा, सुनुवार, भोटे, तामाङ्, माझी, शेर्पा, लेप्चा, थारू, धिमाल, राजवंशी, कुमाल, गुरूड्, क्षेत्री बाहुनको बसोबास छ ।’
यो प्रदेश विशेषगरी प्राचीन किरात सभ्यता र संस्कृतिले ओतप्रोत भएको क्षेत्र र भूगोलको नाम रहेको भन्दै प्रदेश नं १ लाई सबैको अस्तित्वलाई स्वीकार गर्दै, सबैको साझा पहिचान झल्किने गरी पहिचान सहित किरात सगरमाथा प्रदेश घोषणा गरियोस् भनी सुरूवातदेखि नै माग गर्दै आएका विषयलाई स्मरण गराएका छन् । सह अस्तित्व कायम गर्दै यस प्रदेशमा शान्ति र समृद्धि हुन सक्ने प्रस्ताव गरेको समेत विज्ञप्तिमा भनिएको छ ।
बुधबार दिउसो जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘तर, यसको विपरीत यस प्रदेशको नामाङ्कन एकल पहिचानमा आधारित कोशी प्रदेश घोषणा गर्ने प्रदेश सरकारको तयारी भएकोमा प्रदेश नं १ का सम्पूर्ण जन समुदायको तर्फबाट यसको घोर आपत्ति सहित प्रतिकार गर्दै यसको विरूद्ध चरणवद्व आन्दोलन गर्दछौ । यस आन्दोलनबाट कुनै पनि किसिमको क्षतिहुन पुगेमा यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने छ ।’