माङसेबुङ/कुम्मायकको शक्ति हामीले चिन्न नसकेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।
यासोकको कुम्मायक माङहिममा आयोजित किरात सावायेहाङ थिबोङ याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक सेवाको समापन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङ लिङदेन आत्मानन्द सेइङले सो कुरा बताउनु भएको हो ।
सो सेवामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन, गुरु परिवार निर्मला लिङ्देन, शुभनन्द लिङदेन, इक्साहाङ लिङ्देन, मनाहाङ लिङदेन र नाम्बीनहाङ लिङदेनहरुको समुपस्थिती रहेको थियो ।
‘कुम्मायक युमा साम्माङ प्रकट भएको ठाउँ हो, यो युमा माङ बसेको ठाउँ हो’ अङसीमाङले भन्नु भयो, ‘यहाँ विश्व शान्ति मानव एकताको लागि युमा माङसँग सेवा गरेका छौं ।’
सावायेहाङका लागि कुम्मायकका आठ दिनसम्म लगातार सेवा गरेको विषय चर्चा गर्नु हुँदै वहाँले थप्नु भयो, ‘यहाँ सेवा गर्ने संकल्प गरेको थिए, आज पूरा भएको छ.।’ आशीर्वचनकै क्रममा अङसीमाङले संसारमा शान्ति कायम भए मात्र विकास निर्माण गर्न सकिने बताउनु भयो ।
कुम्मायकमा सावायेहाङको मुजोत्लुङ स्थापना गरिदिएको र यसको संरक्षण सम्बद्र्धनमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने समय आएको सुनाउनु हुँदै सेवा सम्पन्न गर्न गाउँपालिकाले सहयोग गरेको मा आशीर्वाद समेत दिनु भएको थियो ।
विहान, दिउँसो र राती गरी तीन प्रहर आठ दिनसम्म निरन्तर सञ्चालन गरिएको सो सेवामा उपस्थित सम्पूर्ण भक्तजनहरुलाई खानका लागि आयोजकलेनै जलपान व्यवस्थापन गरिएको थियो । भने बस्नका लागि डेरा निर्माण गर्ने काम भक्तजन आफैं गरेको आयोजक समितिले जनाएको छ ।
समुन्द्र सतहदेखि करिब १ हजार ७ सय मिटर अग्लो स्थानमा अवस्थित पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकास्थित कुम्मायक माङ्हिममा विश्व शान्ति मानव एकताका लागि सप्ताहव्यापी सेवा विधिवत शुक्रबार सम्पन्न गरिएको हो ।
किरात सावायेत्हाङ थिबोङ् याक्थुङहाङ्सा आप्लुङगेन ताप्फेक सेवालाई मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको हस्तवाहुलीबाट गत फागुन ५ गते सावायेत नाम्धुङ लाधुङ सेमी सेवासँगै सावायेहाङ किरातहरुको चोत्लुङको रुपमा १७ फिट लामो ढुङगा उठाएर सेवाको समुद्घाटन गर्नु भएको थियो ।
सेवाको समापन कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक उपाध्यक्ष तथा समाजसेवी ९९ सय वर्षीय दलबहादुर चेम्जोङको पनि उपस्थिति रहेको थियो । कुम्मायक माङहिम यासोक, रानीगाउँ र स्यावरुम्बा गरी ३ वटा वडाहरुको संगमस्थलको रुपमा रहेको छ ।
यश अघि मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको समुस्थितीमा तेह्रथुमको आठराई गाउँपालिका र पान्थरको हिलिहाङ गाउँपालिकाको संगमस्थल नक्कलेघाटस्थित तमोर नदिको किनार माङहुप वादेम्मा र पान्थरको फेदेनस्थित सुम्हात्लुङ आम्बे पःजमा नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भइसकेको आयोजक समितिका महासचिव मदन इङनामले बताएको छ । महासचिव इङनामका अनुसार कुम्मायक कुस्सायकमा फागुन ५ गतेदेखि १२ गतेसम्म भएको सने सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ नाम्धुङ लाधुङ्सेमी बत्ति बालेर इतिहासकालकै ऐतिहासिक सेवा सम्पन्न भएको छ ।
सेवाको तुम्याहाङको रुपमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, चन्द्रप्रसाद योङया, डा. चन्द्रकुमार सेर्मा, तुम माङसेवासाबा मनप्रसाद थलङ, यामबहादुर फागो, इन्द्र पालुङवा रहनु भएको थियो । सेवा समारोहका अध्यक्ष शेरबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न सेवामा गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, गुरु निजी आश्रम कृषि समिति अध्यक्ष टीकाराम केरुङ, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष तारावीर नेम्बाङ लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।
त्यसैगरी कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती, उपाध्यक्ष महेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो, वडा नं. १ का वडाअध्यक्ष देवेन्द्र लावती, वडा न, ५ का वडाअध्यक्ष निर्मल घिमिरे र कुम्मायक कुस्सायक क्षेत्र विकास समितिका अध्यक्ष जकेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।
कुम्मायक देवस्थलको क्षेत्र परिसरमा नियमित बिजुली प्रवाहका साथै स्वच्छ पिउने पानी र हेलिप्याडको निर्माण गरी आर्थिक बर्षमा पर्यटकीय क्षेत्र घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष बम लावतीको भनाई छ ।
शुक्रबारदेखि फागुन १२ गतेसम्म पान्थर यासकको कुम्मायक कुस्सायकमा विश्व शान्ति मानव एकताको लागि सप्ताहव्यापी आयोजना गरिएको किरात सावायेहाङ थिबोङ याक्थुहाङसा आप्लुङगेन ताप्फेक सेवाको शुक्रबार समापन गरिएको हो ।
सेवामा इलाम, पान्थर, झापा, मोरङ, ताप्लेजुङ, तेह्रथुम, सुनसरी, धनकुटा, काठमाडौ, भक्तपुर, ललितपुर र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, आसाम, भुटान, बर्मा, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकबाट सेवामा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
सावायेहाङ सेवामा कुम्मायक गाउँपालिकामा स्थानीय बिदा
विश्व शान्ति तथा मानव एकताको लागि सप्ताहव्यापी रूपमा गत फागुन ५ गते देखि आयोजना गरिएको सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवाको समापनको दिन शुक्रबार पाँचथरको कुम्मायक गाउँपालिकाले स्थानीय विदा दिएको छ ।
कुम्मायक शक्तिपीठमा फागुन ५ गतेदेखि १२ गतेसम्म विश्व शान्ति तथा मानव एकताको लागि आयोजित सेवा कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितिमा सेवा सम्पन्न हुने कार्यक्रमको अवसरमा कुम्मायक गाउँपालिकाले स्थानीय विदा दिइएको कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जनाएको छ ।
अध्यक्ष लावतीद्वारा हस्ताक्षरित सूचनामा कुम्मायक गाउँपालिका, कुम्मायकका वडा कार्यालय सबै, कुम्मायक गाउँपालिका स्वास्थ चौकी सबै, कुम्मायक गाउँपालिका सामुदायीक विद्यालय सबैमा स्थानीय बिदा गर्ने निर्णय गरेको थियो ।