माङ्सेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनहरुको समुपस्थितीमा पान्थरको फेदेन स्थित सुम्हालुङ आम्बेपःजमा नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।
सावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ सेवाको लागि शुक्रबार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ निजी गुरु आश्रमबाट हवाई मार्गमार्फत फेदेन पुग्नु भएको थियो ।
भने, बिहिबार तमोर नदीको किनार नक्कलेघाटमा आयोजित विश्व शान्ति मानव एकताको लागि आप्लुङ्गेन ताप्फेङ नु माङहुप वादेम्मा विशेष सेवामा पनि अङसीमाङ तथा अङसीमामाङको सवार भएको थियो ।
तेह्रथुमको आठराई गाउँपालिका र पान्थरको हिलिहाङ गाउँपालिकाको संगमस्थलमा अवस्थित सो ठाउँमा बिहिबार ९माघ १२ गते० सावायेहाङको माङ्हुप वादेम्मा गरिएकोसावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवा समारोह आयोजक समितिले जनाएको छ।
सो सेवामा १ लाख ८ हजार १०८ येप्लिङ र १ लाख ८ हजार १०८ बत्ति बालिएको आयोजक समितिले जनाएको छ । सो ऐतिहासिक धार्मिक माङहुप वादेम्मा अनुष्ठानको लागि स्वदेश विदेशबाट हजारौंको संख्यामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।
आगामी फागुन ५ गतेदेखि फागुन १२ गतेसम्म सप्ताहव्यापी पान्थर यासकको कुम्मायक कुस्सायकमा किरात सावायेहाङ थिबोङ याक्थुहाङसा आप्लुङगेन ताप्फेक सेवा आयोजना गरिएको छ । फागुन १२ गतेनै समापन तथा माङ आशीर्वचन एंवम् माङवाहाङवा वितरण कार्यक्रम समेत हुने आयोजकको भनाई छ।
यस्तै सेवामा इलाम, पान्थर, झापा, मोरङ, ताप्लेजुङ, तेह्रथुम, सुनसरी, धनकुटा, काठमाडौ, भक्तपुर, ललितपुर र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकबाट सेवामा भक्तजनहरुको उपस्थिति रहेको जनाइएको छ ।