किरात सावायेहाङ आप्लुङगेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवाको व्यापक तयारी हुँदै

माङ्सेबुङ/तमोर नदीको किनार नक्कलेघाटमा ऐतिहासिक रुपमा आयोेजना गरिएको धार्मिक अनुष्ठान किरात सावायेहाङ आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवाको तयारी धमाधम भइरहेको छ ।

 

 

ताप्लेजुङको आठराई गाउँपालिका र पान्थरको हिलिहाङ गाउँपालिकाको संगमस्थलमा अवस्थित सो ठाउँमा माघ १२ गते बिहिबार सावायेहाङको माङ्हुप वादेम्मा हुने भएको छ ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा ममतामयी गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनहरुको देव समुपस्थितिमा “विश्व शान्ति मानव एकताको लागि” आप्लुङ्गेन ताप्फेङ नु माङहुप वादेम्मा सेवा हुने  सावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवा समारोह आयोजक समितिले जनाएको छ।

 

 

सो सेवामा १ लाख ८ हजार १०८ येप्लिङ र १ लाख ८ हजार १०८ बत्ति बालिने समेत आयोजक समितिले जनाएको छ । सो ऐतिहासिक धार्मिक माङहुप वादेम्मा अनुष्ठानको लागि स्वदेश विदेशबाट हजारौंको संख्यामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहने पनि आयोजक समितिले जनाएको छ।

 

 

 

आठराई गाउँपालिका र हिलिहाङ गाउँपालिकाको संगमस्थान नक्कले घाट तमोर नदिको किनारमा माङहुप वादेम्मा पछि दोस्रो दिन पान्थरको फेदेन स्थित सुम्हालुङ आम्बेपःजमा नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन हुने भएको छ ।

 

 

आगामी फागुन ५ गतेदेखि फागुन १२ गतेसम्म सप्ताहव्यापी पान्थर यासकको कुम्मायक कुस्सायकमा किरात सावायेहाङ थिबोङ याक्थुहाङसा आप्लुङगेन ताप्फेक सेवा आयोजना गरिएको छ । १२ गतेनै समापन तथा माङ आशीर्वचन एंवम् माङवाहाङवा वितरण कार्यक्रम समेत हुने आयोजकको भनाई छ।

 

 

यस्तै सेवामा इलाम, पान्थर, झापा, मोरङ, ताप्लेजुङ, तेह्रथुम, सुनसरी, धनकुटा, काठमाडौ, भक्तपुर, ललितपुर र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकबाट सेवामा भक्तजनहरुको उपस्थिति रहने समेत जनाइएको छ ।