माङसेबुङ/माघे संक्रान्तीको दिन नुहायो भने सदा सदाका लागि पाप पखालिने मान्यता रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेङले बताउनु भयो ।
इलामको माई नगपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीको गुफाडाँडामा आयोजित माघे सक्रान्ति सत्यहाङ्मा मकर शान्ति सेवा (मेला) मा माङ अशीर्वचन प्रदान गर्नुहुदैं सो कुरा बताउनु भएको हो ।
‘यो कक्फेक्वा तङनाम (माघे संक्रान्ती) आदिम पर्व हो’ लिङदेन आत्मानन्द सेईङले भन्नुभयो, ‘माघे संक्राती पर्व दश हजार बर्ष अगाढी देखि मान्दै आएको हों ।’ वहाँले भन्नुभयो, ‘माघ १ गते सधैं यस ठाउँमा मकर नुहाउन आउने गर्दछौं । माघ १ गते नुहाउनाले हाम्रो पाप काटिन्छ ।’
यो देश नेपाल हुनु भन्दा पहिले किरात देश रहेको आत्मानन्द सेईङले बताउनुभयो । नेपाली टोपी र नेपाली दाउरा सुरुवाल नेपालको सभ्यता भएपनि नेपाली टोपी नेपाली पोशाक बन्नु पूर्व किराती पोशाक रहेको वहाँले बताउनु भयो ।
यसैगरी प्रमुख अतिथि प्रदेश १ का विना विभागीय मन्त्री तिलकुमार मेन्याङबोले महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा, गुरु आत्मानन्द तपोभूमि पmुलुङगी र यस क्षेत्रमा निर्माण हुन लागेको माङहिम र विकासका पुर्वधारहरु निर्माणमा आफ्नो पूर्ण सहयोग रहने बताए । मन्त्री मेन्याङबोले माघे संक्रान्ती पर्व किरातहरुको मात्र नभएर सारा नेपालीहरुको पर्व भएको बताएका छन् ।
प्रदेश १ का विना विभागीय मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बि.एण्ड सी.मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक दुर्गा प्रसाई, गुरु निजी कानुनी सल्लाहकार भिम खत्री, प्रदेश न १ का प्रदेश सभा सदस्य गोबिन्द गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सेवा अन्तर्गत शुक्रबार र शनिवार साक्मुरा वादेम्मा र युमा, थेबा, हिममाङको सेवा र आइतबार (आज) कार्यक्रमसँगै येत नाम्धुङ लाधुङ सेमी सेवा समेत सम्पन्न मेला मुल समारोह समितिका सचिव कर्ण थेबेले जनाएको छ ।
कार्यक्रममा किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कलाकार गायक दिलिप माखिमको सांगीतिक प्रस्तुति, केन्द्रीय कलाकारहरुको नृत्य, विभिन्न जातजातिका सास्कृतिक झाँकीहरुमा धान नाच, ख्याली, हाक्पारे, माङलुङ, केलाङ, सकेला, सेलो वालन, संगेनी, मारुनी, येवालाङ, हुर्रा प्रस्तुत गरिएको थियो ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माइनगर पालिकाका मेयर खम्बसिं लिम्बू, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्र कुमार राई लगायतको उपस्थितिमा रहेको थियो । माघे सक्रान्ति सत्यहाङ्मा मकर शान्ति सेवा (मेला) मुल समारोह समितिका अध्यक्ष जगतबहादुर लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहअध्यक्ष लोकबहादुर लिङदेनले स्वागत मन्तव्य र सञ्चालन सन्देश लिङदेनले गरेका थिए ।