इलाम/इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीको गुफाडाँडामा माघे सक्रान्तिको अवसर पारेर सत्यहाङमा शान्ति मकर मेला लाग्ने भएको छ ।
इलामको माई नगपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा पर्ने फुलुङ्गीमा माघे सक्रान्ति सत्यहाङ्मा मकर शान्ति सेवा (मेला) मुल समारोह समितिको आयोजनामा कार्यक्रम हुने भएको हो ।
कार्यक्रमको उद्घाटन प्रदेश १ का विना विभागीय मन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्ने मेला मुल समारोह समितिका सचिव कर्ण थेबेले जानकारी दिए ।
सत्यहाङमा शान्ति सेवा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समुपस्थितीमा कार्यक्रम हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।
राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दले गुफा साधना र ज्ञान प्राप्ति गरेको खत्रक्पा नजिक र फुलुङ्गीको गुफाडाँडा यस वर्ष कार्यक्रम गर्न लागिएको हो । सो स्थानमा २०२७ भदौ १ देखि माघ मसान्तसम्म किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले गुफा साधना गरेर समाधि ज्ञान प्राप्त गर्नु भएको थियो ।
सेवा अन्तर्गत शुक्रबार र शनिवार साक्मुरा वादेम्मा र युमा, थेबा, हिममाङको सेवा सम्पन्न भई सकेको छ । भने, आइतबार (आज) कार्यक्रमसँगै येत नाम्धुङ लाधुङ सेमी सेवा समेत हुने भइरहेको जनाइएको छ ।
माङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङका अनुसार यो समाचार तयार गर्दाताका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरु येत नाम्धुङ लाधुङ सेमी सेवामा सवार भइसक्नु भएको छ ।
मेलाको अवसरमा विभिन्न जातजातिका सास्कृतिक झाँकीहरु प्रस्तुत गरिने जनाइएको छ । त्यस्ता झाँकीहरुमा धान नाच, ख्याली, हाक्पारे, माङलुङ, केलाङ, सकेला, सेलो वालन, संगेनी, मारुनी, येवालाङ, हुर्रा लगायन प्रदर्शन गरिने भएको छ ।