माङसेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको हवाई मार्गमार्फत धनकुटाको फुकुदेनमा सवार हुने भएको छ ।
किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन प्रतिमा अनावरण कार्यक्रममा अङसीमाङ तथा अङसीमामाङ धनकुटामा सवार हुने गुरु निजी सचिव टंक लिङ्देनले बताए ।
धनकुटाको सागुरीगडी ५, डाँडाबजार, फुकुदेनमा आयोजित कार्यक्रममा महागुरु फाल्गुनन्दको प्रतिमा अनावरणसँगै महागुरुका चेला जयमान चवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद चवेगूको शालिक अनावरण हुने कार्यक्रम रहेको छ ।
यसरी मंगलबार (भोलि) आयोजित कार्यक्रममा महागुरु फाल्गुनन्दले प्रयोग गर्नु भएको कुवा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अनुगमन हुनका साथै ध्वँजेडाँडामा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा स्थापनाका लागि शिलान्यास समेत हुने कार्यक्रम रहेको छ ।
अङसीमाङ तथा अङसीमामाङ सवार कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार अङसीमाङ तथा अङसीमामाङहरु इलामको माङसेबुङबाट धनकुटामा मंगलबार विहान प्रस्थान गर्नु हुने भएको छ ।
धनकुटाका संघीय सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा अङसीमाङ तथा अङसीमामाङबाट माङ आशीर्वचन प्रदानु हुनका साथै अभिनन्दन, सम्मान कार्यक्रमहरु रहेको आयोजकले जनाएको छ ।