किरात लिम्बू भाषा कामकाजी भाषा घोषणा वार्षिक उत्सवमा दीपावली

 

 

माङसेबुङ/इलामको धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयले किरात लिम्बू भाषा कामकाजी भाषा घोषणा गरिएको दिनको वार्षिक उत्सव मनाएको छ ।

 

 

स्थानीय किरात लिम्बू भाषालाई कामकाजी घोषणा गरेको ४ वर्ष पूरा भई ५ वर्षमा प्रवेश गरेको अवसरमा वडा कार्यालयले मंगलबार (हिजो) विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।

 

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको गरिमामय देवसमुपस्थितिमा भएको कार्यक्रममा अङ्सीमाङले अमृतमय आशीर्वचन प्रदान गर्नुभएको थियोे ।

 

 

वार्षिक उत्सवको अवसरमा भाषाविद् हरिचन्द्र लावतीलाई सम्मान गरिएको छ । त्यसैगरी स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा वडाबासीहरुले टोल टोलमा र आआफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

 

 

 

माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राईको प्रमुख आतिथ्यमा भएको कर्यक्रममा अतिथिहरु माङ्सेबुङ वडा नम्बर ३ अध्यक्ष जनम खम्बु, किरात चोलुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङ्देन, किरात धर्म साहित्य उत्थान संघ सह सचिव आङ्बुहाङ अबोध अविरल, आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात याक्थुङ चुम्लुङ प्रतिनिधि अभिषेक एक्तेन, जनता समाजवादी माङसेबुङ अध्यक्ष किसान खजुम, सन्चारकर्मी नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङहाङ, माङगेन्ना सेवा पूर्व सचिव नन्द नेम्वाङ, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ र सचिव उदयविक्रम तुम्बापो लगायतको उपस्थिति रहेको थियोे ।

 

 

 

नेपालको इतिहासमा पहिलो पटक स्थानीय किरात लिम्बू भाषालाई कामकाजी भाषा लागू गरिएको स्मरणमा वर्षेनी वार्षिक उत्सव मनाउन थालिएको वडाअध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाइएको उनले बताए ।

 

 

इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा २०७५ साल मंसिर १३ गते स्थानीय भाषाका रुपमा किरत लिम्बू भाषा लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो । किरात लिम्बू भाषालाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।

 

 

 

पालिका भरी किरात लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै किरात लिम्बू भाषालाई गाउँपालिकाको कामकाजी भाषा बनाउने समावेश गरेको हुदाँ त्यसका लागि प्राविधिक पक्षको काम भइरहेको उनले बताए ।

 

 

वडाअध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा सम्मन्न कार्यक्रममा वडा सदस्य सुरेन्द्र तुम्बाहाङफेले स्वागत मन्तव्य तथा दोभाषे वडा सचिव सुनिल सेर्मा लिम्बूले सञ्चालन गरेका थिए ।