मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूको ५४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवाको अवसरमा वि.स. २०६६ फागुन ३ माङसेबुङमा अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले दिनु भएको माङ आशीर्वचन ।
मेन्निमाड, मेन्धामाड, आनुमाङ, सेक्खामाङ, मोङलिङमा माङकेप्मा, माङओप्मा माङे सेवारो ।
श्रद्धालु भक्तप्रेमी, विद्वान मित्रहरू, पत्रकार, शिक्षक र दिदीवहिनी सम्पूर्णमा मेरो हार्दिक धन्यवाद छ । यस पवित्र पर्वमा हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नु भएकोमा गुरुकुल हर्षित भएका छौं । यस कार्यक्रमलाई सफल पार्न इलाम सदरमुकामबाट पाल्नुभई कार्यक्रम उद्घाटन गरिदिनु भएकोमा विष्णु सुब्बा दाहाललाई मेरो धेरै आशीर्वाद छ । हिमालबाट श्रृखलाबद्ध भएर आएको यस पवित्र भूमि माङसेबुङमा हरेक सालको विभिन्न अवसरमा हामी भेला हुने गर्छौ । यहाँ नेपालबाट मात्र नभएर मित्रराष्ट्र भारत, वर्मा, सिक्किम, भुटान, हङकङ, बेलायत लगायतका मुलुकबाट पनि भक्तजनहरू उपस्थिति हुनुहुन्छ ।
मान्छेले अन्तिममा विश्वास गर्ने ठाउँ नै धर्म हो । धर्म नभए संसार नाश हुन्छ । त्यसैले धर्मको अत्यावश्यक छ । धर्मलाई राम्ररी चिन्ने दिन आएको छ । यहाँबाट मैले सधै भनिरहेको छु । नेपालमा मात्र होइन, संसारमा नै हत्या, हिंसाको आगो बलेको छ । त्यो आगो धर्मले मात्र निभ्छ । संसारमा पाप बढेर गएको छ । साँच्चै भन्ने हो भने संसारमा धेरै मान्छे पापी भेटिन्छौं । त्यहींँ तल झयौँ भने ज्यान के हुने हो निधो छैन् । त्यस्तो दुःखद् अवस्था छ । मान्छेले मान्छे चिन्नु पर्छ । म के हुँ ? को हुँ ? र, मैले के गर्नुपर्छ ? कसलाई के गर्नुपर्छ ? भन्ने हामीले जान्नुपर्छ । मान्छेले मान्छे चिनिएन भने मारामार हुन्छ । मान्छे नाश हुन्छ । पहिला पहिला विभिन्न युगमा पनि यस्तै हुँदै आयो । त्यसबेला धर्मको आवश्यकता प¥यो । धर्म भनेको शान्तिको मार्ग हो । शान्तिको बाटो हो । अशान्ति गर्नु हुँदैन ।
महागुरू फाल्गुनन्दलाई राज्यले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको छ । वहाँले समाजलाई क्रोध, रिस, घमण्ड, हिंसाबाट अलग गर्ने प्रयास गर्नुभयो । वहाँले रिस, राग, अहंकारले चुर्लुम्म डुबेको समाजलाई त्यसबाट मुक्ति हुने मार्ग दिनुभएको छ । हाम्रो समाज कस्तो छ भने एक अर्कालाई चिन्दैनन् । उनीहरूमा क्रोध, घमण्ड, अहंकार छ । जब मान्छेमा क्रोध, घमण्ड, अहंकार हुन्छ तब मानिसको नाश हुन्छ । हामीलाई ज्ञानको बाटोमा जान दिँदैन । त्यसलाई त्याग्न सक्यौं भने मात्र हामी धर्मको मार्गमा अघि बढ्न सक्छौं ।
मैले सधैं भनिरहेको छु, तपाई आफ्नो बाटोमा हिँड्नुस् । कसैलाई असर नगर्नुस् । सत्कर्ममा हिँड्नुस् । कसैलाई नदबाउनुस् । कसैलाई नउचाल्नुस् । हामीले शान्तिको बाटो पछ्यायौँ भने पक्का मान्छे हुन्छौं । हिंसा, हत्या गर्ने, अपराध सोच्ने, गर्ने तिर गयौं, मारामार, कुटाकुट गर्न तिर लाग्यौं, रक्तपात गर्न तिर गयौं भने त्यो अँध्यारो मार्ग हो । पाप मार्ग हो । त्यसलाई राक्षसी कर्म भनिन्छ । त्यसैले हामी सत्य बाटोमा हिँडौं । सत्य आहार, सत्य बिहार र सत्य व्यवहार गरौं । यो सत्यको मार्ग हो ।
आजको मुहिङगुम अङसीमामाङ जन्मोत्सव भनेको तपाई तुत्तुगेन तुम्याहाङ, याक्लागेन सुहाङमाहरूका लागि हो । महिला वर्गको शीर नढलोस् भनेर यो जन्मोत्सव मनायौं । हामी युमा थेबालाई समान रूपमा सम्मान गर्छौं । युमा भनेको माङको महिला प्रतिरूप हो । महिलाहरूको विकास होस् । सज्जन बाटोमा जाओस् भनेर यो जन्मोत्सव कार्यक्रम सम्पन्न गर्न लागेका छौं । तपाईहरूको शीर उठोस् । थाङ तिदिङ केयेविर, थाङ वचेवचे केयोविर, थाङ तिदिङ तिदिङ केबोगिर भाङ लाखौंलाख बत्ती बालेर माङसँग सेवा गर्नुभएको छ ।
यो माङले देख्छ, चिन्छ । हामी माङवा, हाङवा पाउँछौं । तपाईले जे माग्नुहुन्छ त्यो पाउनुहुन्छ । यहाँ कोही मन्त्री माग्न आउछन् । कोही नेता माग्न आउँछन् । सबैले पाइरहेका छन् । देश, विदेशबाट आउँछन् । यो सबैको मनोकांक्षा पूरा गर्ने स्थल हो । तपाईको पनि मनोकामना पूरा होस् । जे सम्झनु भएको छ, माग्नुभएको छ, त्यो पूरा होस् मेरो आशीर्वाद छ । तपाईले हाँकेको, ताकेको पूरा होस् भन्ने आशीर्वाद दिँदै आफ्नो दुई शब्द अन्त्य गर्न चाहन्छु । । आसेवारो । जय किरात । तियाहा । तियाहा ।
साभारः किरात धर्म अहिंसा, शान्ति र मुक्तिको मार्ग प्रकाशकः किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति