राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्य मनाइँदै


माङसेबुङ/किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती कार्यक्रमलाई भव्यताका साथ मनाउने तयारी भइरहेको छ ।

 

 

महागुरु फाल्गुनन्द लिङ्देन जन्मजयन्तीको अवसरमा आगामी कार्तिक २५ गते ताप्लेजुङमा आयोजित महागुरु फाल्गुनन्दको जन्मजयन्तीको केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको हवाई मार्गमार्फत सवार हुने भएको छ ।

 

महागुरु फाल्गुनन्द लिङ्देनको १३८ औं जन्मजयन्ती मूल समारोह समुद्घाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ तथा अङसीमामाङको विशेष सवार हुन लागेको माङसवार कार्यक्रमका प्रमुख तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

 

माङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङका अनुसार जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष ताप्लेजुङको फुङलिङमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । समारोह समुद्घाटनसँगै अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट ताप्लेजुङ जिल्लाको फुङलिङमा निर्मित किरात माङहिम उद्घाटन, माङसेवासाबा भवन अवलोकन तथा तोक्मेडाँडामा निर्मित महागुरु फाल्गुनन्दको सालिक अनावरण कार्यक्रम हुने मूल आयोजक समितिका सचिव सरोज कङलिवाले बताए ।

 

जन्मजयन्तीको अवसरमा आयोजना गरिएको केन्द्रीय कार्यक्रमको तयारी धमाधम भइरहेको समारोह समितिका सचिव सरोज कङलिवाले जनाएको छ । ताप्लेजुङमा आयोजना गरिएको केन्द्रीय कार्यक्रममा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

 

 

जन्मजयन्ती कहाँ कहाँ मनाइँदै छ ?

 

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने तयारी गरिएको हो । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् ।

 

 

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ ।

 

 

पछिल्लो समयमा नेपालमा मात्र नभई भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ । किरात धर्मदर्शनका महान दार्शनिक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती समारोह मनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

 

महागुरु फाल्गुनन्दको संक्षिप्त चिनारी

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मिएको १३७ वर्ष पूरा भई आगामी कार्तिक २५ गतेबाट १३८ वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती आगामी कार्तिक २५ गते विविध कार्यक्रम आयोजना गरी संसारभर मनाईदैछ ।

 

 

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।

 

 

महागुरु फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

 

 

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाता, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले फाल्गुनन्दलाई राष्ट्रिय विभूतीको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ । तत्कालीन समयमा लोपोन्मुख अबस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा र्डोयाउन अहोरात्र लाग्नु भएको थियो ।

 

 

नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा नं. ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।

 

 

हाङ्यकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।